सितरा नेपालीको अध्यक्षतामा कमिट नेपाल बाँकेको नयाँ कार्यसमिति गठन

शाख न्यूज    प्रकाशित: २०८२-४-२२ गते   २६८ पटक हेरिएको

नेपालगन्ज - सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेको १८औं साधारण सभा तथा ९औं अधिवेशन “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तिकरण तथा रुपान्तरणका लागि सामुदायिक अभियान’’ भन्ने मूल नाराका साथ बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सत्रको सभा अध्यक्षता संस्थाका अध्यक्ष प्रकाश नेपाली (बादी) ले गरेका थिए भने प्रमुख अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौर थिए । 

त्यसैगरी विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनाल, सुशिला बादी र अतिथिहरुमा जिल्ला समन्वय समिति बाँके प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सीता कार्की, मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गै.स.स. केन्द्रीय सचिव नमस्कार शाह तथा विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कमिट नेपालका कार्यसमितिका पदाधिकारीहरु एवम् बादी अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाको महासचिव सितरा नेपालीले गरेकी थिइन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य राठौरले शिक्षा नै समुदाय रुपान्तरणको मुख्य साधन भएको बताउँदै बादी समुदायका बालबालिकाको शिक्षाका लागि कमिटले निर्वाह गरिरहेको भूमिका उल्लेखनीय रहेको बताए । अन्य बक्ताहरुले पनि कमिट नेपालले सामाजिक रुपान्तरणमा खेलिरहेको भूमिकाको सराहना गरेका थिए । 

साधारणसभामा आर्थिक बर्ष २०८१/०८२ को आर्थिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो । जस अन्तर्गत २०८१/०८२ को आय-ब्यय १ करोड ६४ लाख ८६ हजार ९ सय ३८ रुपैयाँको अनुमोदन र आ.व. २०८२/०८३ को अनुमानित कार्यक्रम तथा बजेट रकम रु. २ करोड ६८ लाख ९० हजार सर्वसम्मतरुपमा पारित गरिएको कमिट नेपालका संस्थापक तथा कार्यकारी निर्देशक केशव नेपालीले बताए । उनले बादी समुदायको भावी योजना तथा दिगो लक्ष्य हासिल गर्नका निम्ति संस्था सदैव कटिबद्ध रहेको बताए । साथै सामुदायको रुपान्तरणका लागि सशक्तरुपमा अघि बढ्ने नेपालीको भनाई छ ।

त्यसैगरी कार्यक्रमको सभाध्यक्षता गरेका संस्थाका अध्यक्ष प्रकाश नेपाली (बादी) ले बादी समुदायको हकहितका निम्ति सामुदायिक अभियानबाट नै समुदायलाई सशक्त बनाई स्थानीय तह, प्रदेश र संघ हुँदै राष्ट्रिय तहसम्म सरकारी सेवा सुबिधाका लागि वकालत तथा पैरवी गर्ने बताए । भावी दिनमा अन्य जिल्लामा कमिट नेपालका कार्यक्रमलाई लैजाने प्रतिबद्धता पनि उनले ब्यक्त गरे । 

साथै आ.व. २०८२/०८३ सम्मका लागि उक्त सभाले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सितरा नेपालीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा पुनम नेपाली उपाध्यक्ष, शान्ता नेपाली कोषाध्यक्ष, प्रकाश बादी, महासचिव, प्रकाश नेपाली सचिव छन् । यस्तै सदस्यहरुमा रेनु नेपाली, धन्नु बादी, कुसुम बैगार र शोभाराम महाउत छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech