नेपालगन्ज, २० कात्तिक - भेरी अस्पताल नेपालगन्जमा सञ्चालन हुने अनुसन्धानात्मक कार्यहरूलाई व्यवस्थित, मर्यादित र वैज्ञानिक बनाउन गठित संस्थागत आचार समीक्षा समिति (Institutional Review Committee - IRC) को संयोजकमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. तीर्थेन्द्र खड्का नियुक्त भएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालद्वारा जारी पत्रअनुसार डा. खड्कालाई शुक्रबार देखि लागू हुने गरी समितिको संयोजक (Coordinator) को जिम्मेवारी सुम्पिएको हो। अस्पतालमा हुने विभिन्न चिकित्सा तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानहरूलाई नैतिक मापदण्डअनुरूप सञ्चालन गर्ने उद्देश्यले यो समिति गठन गरिएको डा. दर्नालले जानकारी दिएका छन् ।
नवनियुक्त संयोजक डा. खड्काले समितिको प्रभावकारी सञ्चालन, समन्वय तथा व्यवस्थापनको नेतृत्वका साथै अस्पतालमा पेस हुने अनुसन्धान प्रस्तावहरूको गहन समीक्षा तथा मूल्याङ्कन गर्ने, समितिका बैठकहरू सञ्चालन गर्ने, अनुसन्धानको नैतिक पक्षको नियमित अनुगमन गर्ने र अभिलेख व्यवस्थापन गर्नेलगायतका कार्यहरु गर्नु पर्ने जानकारी दिएको छ ।
अस्पताल प्रशासनका अनुसार डा. खड्काको नियुक्तिले भेरी अस्पतालमा हुने अनुसन्धानात्मक गतिविधिहरूलाई थप व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउनुका साथै नैतिक मापदण्डअनुरूप अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। पश्चिम नेपालकै प्रमुख प्रेषण अस्पताल (Referral Hospital) को रूपमा रहेको भेरी अस्पतालमा यो समितिको सक्रियतासँगै स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थपिने विश्वास लिइएको छ।