नेपाल–भारत सीमा सुरक्षामा नयाँ रणनीति: अवैध गतिविधि नियन्त्रणदेखि प्रविधिमैत्री व्यवस्थापनसम्म

शाख न्यूज    प्रकाशित: २०८३-७-१३ गते   २०२ पटक हेरिएको

काठमाडौँ - सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (SSB) बीचको १०औँ द्विपक्षीय समन्वय बैठक कात्तिक १३ गते काठमाडौँमा सम्पन्न भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतका एसएसबी महानिर्देशक संजय सिंघलको नेतृत्वमा कात्तिक ११ गतेदेखि सुरु भएको उक्त बैठकले सीमा सुरक्षा र व्यवस्थापनमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकमा दुवै देशका सुरक्षा निकायबीच रणनीतिक सहकार्य, सूचना आदानप्रदान र सीमापार अपराध नियन्त्रण गर्ने साझा प्रतिबद्धता व्यक्त गरियो। दशगजा क्षेत्रको अतिक्रमण र अवैध संरचना हटाउने तथा सीमा स्तम्भहरूको नियमित मर्मतसम्भारका लागि फिल्ड तहमा समन्वय बढाउने सहमति भएको छ।

यस्तै, मानव बेचबिखन, लागुऔषध तस्करी, नक्कली नोट र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न जाँच तथा कागजात प्रमाणीकरणलाई कडाइ गरिनेछ। सीमा व्यवस्थापनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउन सीसीटीभी, लगेज स्क्यानर, वाक–थ्रु मेटल डिटेक्टर जडान गर्ने र आ–आफ्नो क्षेत्रमा ड्रोन प्रयोग बढाउने विषयमा गहन छलफल भएको छ। 

वैधानिक यात्रीहरूको सहजताका लागि हेल्प डेस्क विस्तार गर्ने र प्राकृतिक विपद् सामना गर्न चितवनको कुरिनटारमा संयुक्त उद्धार अभ्यास (Joint Swift Water Rescue Exercise) सञ्चालन गर्ने सहमति समेत बैठकले गरेको छ। सन् २०१२ देखि पालैपालो आयोजना हुँदै आएको यो समन्वय बैठक आगामी वर्ष भारतमा हुनेछ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech