कोहलपुर - बाँके ट्राफिक प्रहरी कार्यालयद्वारा ३७ हजार बढी सवारीसाधनलाई कारबाही गर्दै ३ करोड रुपैयाँ भन्दा बढीको राजस्व संकलन गरिएको छ।
गत साउनदेखि असार मसान्तसम्ममा जिल्लामा गरिएको ट्राफिक कारबाहीमा ३ करोड २६ लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिएका छन।
ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ३७ हजार ४ सय ३५ सवारी साधनतर्फ ४ हजार २ सय ८८ ट्रक-टिपर, ८ हजार ४ सय ३९ वटा बस तथा मिनि बस, ६ हजार ५ सय ५५ जिप,१४ हजार ५ सय २ मोटरसाइकल ,१ हजार २ सय १८ वटा ट्याक्टर र ट्राफिक नियमविपरीत चलेका २ हजार ३ सय २३ वटा टेम्पोलाई कारबाही गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रमुख पन्तले जानकारी दिएका छन् ।
ट्रक-टिपरलाई गरिएको कारबाहीमा ४२ लाख ६२ हजार रुपैयाँ, बसतर्फ ८६ लाख १७ हजार, जिपबाट ५३ लाख ९२ हजार, मोटरसाइकलबाट ९५ लाख १ हजार, ट्याक्टरतर्फबाट ९ लाख ८४ हजार ५ सय रुपैयाँ र टेम्पो लगायतबाट १५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक प्रमुख पन्तले बताएका छन् ।
यसैगरी जिल्लाका विभिन्न स्थानमा भएका भएका ८ सय ५२ सवारी दुर्घटनामा ७० जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी ५५ जना पुरुष,१० महिला,४ बालक र एक बालिकाको मृत्यु भएको हो।
एक वर्षको अवधिमा भएको १०२ जना पुरुष,२० महिला,१६ बालक र ४ बालिका गम्भीर घाइते हुँदा ४ सय ९७ जना पुरुष,१ सय ७६ महिला र ७० बालक तथा ४१ जना बालिका सामान्य घाइते भएको प्रहरी निरीक्षक पन्तले बताए ।
लाखौं सर्वसाधारणलाई ट्राफिक सचेतना कक्षा दिदै गर्दा जिल्लाका विभिन्न स्थानमा नागरिक सुनुवाइ कार्यक्रम गरिएको थियो भने सवारी साधनको मेकानिकल जाँच लगायत चालक तथा सहचालकका लागि आँखा शिविर समेत संचालन गरिएको थियो ।
आ.व. ०८१-०८२ को अन्तिमसम्ममा चौपायातर्फ भएका ५ सय ७७ दुर्घटनामा २२ चौपायाको मृत्यु हुँदा ७ चौपाया घाइते भएका छन् । त्यस अवधिमा सबैभन्दा बढी ४ सय ८५ वटा मोटरसाइकल दुर्घटना परेका थिए। ट्राफिक प्रहरीले एक वर्षको दौरानमा २ हजार ५ सय ५५ पटक ट्राफिक सचेतना कार्यक्रम गरेकोमा २ लाख ३२ हजार १ सय ८७ जना सर्वसाधारण लाभान्वित भएको प्रमुख पन्तले जानकारी दिए।