कंचनपुर १३ असार । भिमदत्त नगरपालिका वडा नं. -१९ को आर्थिक सहयोगमा लक्ष्मी माध्यमिक विद्यालयद्वारा लागुपदार्थ दुर्व्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भीमदत्त–१९ बागफाँटामा रहेको लक्ष्मी माध्यमिक विद्यालयले वडाको आर्थिक सहयोगमा सडक नाटक सम्पन्न गरेको हो ।
लागुऔषध दुर्व्यसनी तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय अभियान चलिरहेको सोही क्रममा समाजमा बढ्दै गरेको नकारात्मक पक्षलाई निरुत्साही गर्नको लागि जनचेतनामुलक सडक नाटक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले बताएका छन् ।
स्थानीय तह, अभिभावक, शिक्षक र समुदाय, सरोकारवाला निकायहरुसँग सहकार्य गरेर लागुपदार्थ दुर्व्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन लगायतका कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता र सामाजिक चेतना विकासमा, आत्मविश्वास, प्रस्तुतीकरण क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने हुँदा प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता समेत प्रधानाध्यापक नाथले व्यक्त गरेका छन् ।
विद्यालयमा विद्यार्थीहरुको पढाई स्तरउन्नती, बौद्धिक क्षमताको विकास संगै लागुपदार्थको सेवनवाट टाढा राख्न र समाजमा जनचेतनामुलक सन्देश फैलाउन, असल समाजको परिकल्पना साकार गर्न आफ्नो विद्यालयको टिम सदैव अग्रसर रहनुका साथै विद्यालयलाई समाज संग जोड्ने क्रममा विद्यार्थीहरुलाई पठनपाठनमा मात्र सिमित नराखी उनीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिमले जोड्दिई रहेको प्रधानाध्यापक नाथले बताएका छन ।
यसै क्रममा बालबालीकाहरु लागुऔषध दुर्व्यसनीमा फस्दै गरेको समस्या बढ्दै गईरहेको समयमा यसलाई निरुत्साही गर्न यस्तै कार्यक्रम टोलटोल तथा सार्वजनिक स्थलहरुमा कार्यक्रम चलाउदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै वडालाई लागुऔषध दुर्व्यसनी उन्मुलनमा जोड् दिने भीमदत्त–१९ वडा सदस्य भागरथी बिष्टले जानकारी दिइन् ।
लागु पदार्थ दुर्व्यसनीले व्यक्ति, परिवार र समाजलाई कति असर गरिरहेको छ भन्ने दृश्यहरु नाटक मार्फत मञ्चन गर्दै विद्यार्थीहरुले समतामुलक सभ्य समाज निर्माण गर्न कुलतमा हैन सिर्जनात्मक काममा लाग्नु पर्ने सन्देश दिएका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, शिक्षक, कर्मचारी र स्थानीयवासिहरुको उपस्थिति रहेको थियो।