बाँके ११ असार - बाँकेमा पहिलो पटक सवारी चालक र सह–चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजनामा यातायात ब्यबस्था कार्यालय नेपालगंज बाँके र इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न कोहलपुरस्थित नयाँ बसपार्कमा सचेतनामूलक कार्यक्रम गरेको हो ।
सो अवसरमा सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए ।
वर्षायाममा यान्त्रिक गड्बडी हुने र मनसुनका बेला खोला, नालामा आउने बाढी तथा सडकमा जमेको पानीले बाटो नदेखिने भएकाले त्यस्तो अवस्थामा सवारी साधन कसरी चलाउने र दुर्घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतना दिदै कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको प्रमुख पन्तले बताए ।
ट्राफिक प्रहरी, चालक र सह–चालक, सवारी धनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयासले सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने पन्तले जानकारी दिएका छन् ।
कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत तथा चालकले अपनाउने सुरक्षा तथा सतर्कताले सवारी दुर्घटना न्यूनीकरण हुने बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताइन् ।
कार्यक्रममा बागेश्वरी यातायात प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले ट्राफिक प्रहरीले सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने बताए ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख श्री रमेश बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लामा संचालित बिभिन्न प्रा.लि.का पदाधिकारी, व्यवसायी,चालक, सह-चालक तथा सर्वसाधारणलगायतको उपस्थिति रहेकोे थियो । सो अवसरमा विभिन्न ३९ वटा सवारी साधनको यान्त्रिक जाँच गरिनुका साथै सहभागी ९० जना चालक तथा सह–चालकलाई सचेतनासम्बन्धी सामग्रीहरू प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पन्तले जानकारी दिए ।