अवैध भारतीय ५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ

शाख न्यूज    प्रकाशित: २०८२-२-१५ गते   ५५६ पटक हेरिएको

बाँके - नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ स्थित जयसपुर नाकाबाट बाँके प्रहरीले अवैध भारतीय ५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। 

भारतको रुपइडिहाबाट नेपाल आउँदै गरेको अवस्थामा ५ लाख रुपैयाँ भारुसहित भारतको लखनउका ४० वर्षीय निरज चौरसीय र दाङको पुरन्धाराकी  २६ वर्षीया साइना नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार जेठ १४ गते युपी ३२ एलबी ६३८९ नम्बरको सुजुकी कारमा रुपइडिहाबाट आउँदै गरेको अवस्थामा नेपालगन्ज-१६ जयसपुरबाट ५ सय दरका ६ सय थान नोट र १ हजार थान २ सय रुपैयाँका नोट बरामद गरेको हो।

बरामद गरिएको भारतीय ५ लाख रुपैयाँ र नियन्त्रणमा लिइएको कारसहित निरज र साइनालाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको डीएसपी पातलीले बताए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech