द्वन्द प्रभावित, एकल महिलाहरूका लागि सात दिने अचार बनाउने तालिम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-२-४ गते   २०८ पटक हेरिएको

नेपालगन्ज - द्वन्दपीडित तथा एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष शोभा बिसीले एकल महिलाहरू आत्मनिर्भरसँगै उदाहरण बन्नुपर्ने बताएकी छिन् । 'सीप सिकौं र आत्मनिर्भर बनौं' भन्ने उद्देश्यका साथ सोमबार नेपालगन्जमा द्वन्द प्रभावित, बेपत्ता तथा एकल महिलाहरूका लागि सात दिने अचार बनाउने तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले अझै पनि द्वन्दको चोट बिर्सन नसकेको बताउँदै यस्ता खालका तालिमले कमसेकम द्वन्द प्रभावित, द्वन्दपीडित सबैलाई घाउमा मल्हमको काम गर्ने बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगन्ज उप-महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीले आफ्नै वडामा निर्माण भएको संजालको भवनमा यस्ता खालका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । उनले संस्थाको उद्देश्य अनुसारको छ्हारी घर निर्माणमा पनि वडा कार्यालयले सक्दो सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा आत्मनिर्भर सम्बन्धि विभिन्न खाले मागमा आधारित तालिमहरू वडाले संचालन गर्ने पनि बताए ।

तालिमका प्रशिक्षक अनु पाण्डेले सहभागीहरूको बिगतको कुरा सुन्दै उनीहरूलाई सान्त्वना दिँदै तालिम संचालन गरेको बताइन् । सहभागी महिलाहरूको उत्सुकताले आफूहरूलाई पनि हौसला थपिएको उनले बताइन् ।

संस्थाका कार्यवाहक अध्यक्ष बिन्दा खरेलले द्वन्द प्रभावित, एकल महिलाहरूका लागि सात दिने अचार बनाउने तालिम सफलरूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरिन् । उनले तालिममा सहभागी ३० जनाले ६ प्रकारका अचार बनाउन सिकेको बताइन् ।

द्वन्दपीडित तथा एकल महिला संजालका सचिव विजया रोकाया र सदस्य जया आचार्यले अघिल्लो वर्षझैं यो वर्ष पनि अचार बनाउने तालिम संचालन गर्न पाएकोमा आर्थिक सहयोग गर्ने नेपालगन्ज उप-महानगरपालिका र सहभागी महिलाहरूलाई धन्यवाद व्यक्त गरे ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech