दोधारा चाँदनी प्रहरीको अन्तिम आधारभुत दिक्षान्त समारोह सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-१-१२ गते   ६९३ पटक हेरिएको

कंचनपुर १३ बैशाख - दोधारा चाँदनी नगरपालिकाका नगर प्रहरीहरुको आधारभूत तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरमा सम्पन्न भएको छ । शनिबार तालिम समापन पछि दिक्षान्त समारोहको आयोजना गरिएको थियो । 

नगरपालिकाका नगर प्रहरीहरुको दिक्षान्त समारोहमा नगर प्रमुख किशोर कुमार लिम्बु प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नगर प्रमुख लिम्बुले स्थानीय तह सञ्चालन ऐन २०७४ मा नगर प्रहरीको व्यवस्था गरिएको उल्लेख गर्दै नगर प्रहरीले शान्ति, सुरक्षा र स्थानीय तहको सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

कार्यक्रममा शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले तालिमको सफल समापनमा खुशी व्यक्त गर्दै नगरपालिका र नगर प्रहरी संगको सहकार्यले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा अन्य आपतकालीन अवस्थामा कार्य गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी गणको संक्षिप्त परिचय प्रस्तुत गर्दै गणका प्रतिनिधिहरुले शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको भूमिका तथा गणको संरचना र कार्य क्षेत्रबारे जानकारी दिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हे.क्वा. शैलेश्वरी कंचनपुरले १ सय २९ दशमलव ५ किलोमिटर लामो नेपाल–भारत सीमाको सुरक्षा गर्नुका साथै विपद् उद्धार, राजमार्ग सुरक्षा तथा अन्य आपतकालीन अवस्थामा सक्रियतापूर्वक सेवा प्रदान गर्दै आएको छ ।

३० दिन सम्म नगर प्रहरीलाई सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । तालिम समापनमा नगर उपप्रमुख गंगा देवी जोशी, सशस्त्र प्रहरीका अधिकारीहरु, सञ्चारकर्मी, निड्स नेपाल र एनएनएसडब्ल्युएका प्रतिनिधिहरु, नगर प्रहरी प्रशिक्षक तथा प्रशिक्षार्थीहरु, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयवासिकोहरुको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech