जानकी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

शाख न्यूज    प्रकाशित: २०८२-१-१२ गते   २८२ पटक हेरिएको

बाँके १३ बैशाख - जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप लगाएपछि जानकी खोप सुनिश्चितता घोषणा भएको हो ।

शनिबार गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँपालिकालाई पूर्ण खोप घोषणा गरेका थिए । बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले स्वास्थ्यकर्मीलाई विशेष निगरानी गर्न तथा आगामी वर्षमा गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने तरिकाले काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन समेत पालिका अध्यक्ष खाँले दिएका छन् । 

गाउँपालिका अन्तर्गत जन्मेदेखि १५ महिनासम्मका जम्मा ९ सय ३४ बालबालिका मध्ये छुटेका २ सय २५ जना बालबालिकाले नियमितरुपमा पूर्ण खोप लगाई शून्यमा झारेपछि मात्र शतप्रतिशत पूर्ण खोप सुनिश्चितता भएको स्वास्थ्य शाखा प्रमुख दल वहादुर रानाले बताए ।

स्वास्थ्य कार्यालय बाँकेले जानकीलाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो भने पालिकाको ६ वटै स्वास्थ्य चौकीलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो । वार्षिकरुपमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि घोषणा गरिएको हो । 

जनस्वास्थ्य निरीक्षक तमलाल बेलवासेले सन्चालन गरेको घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत मतिन अहमद अन्सारी, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, वडाध्यक्षहरु चन्द्रिका प्रसाद गुप्ता, टिकानाथ यादव, जगदिश प्रसाद हरिजन लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech