प्रेम सिंह
बाँके १ चैत - बैजनाथ गाउँपालिका वडा नं . ७ पेडारीमा होली पर्वका अवसरमा ज्येष्ठ नागरिकहरुलाई गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले छाता वितरण गरिएको छ । रेडियो फेमस एफ.एम ले बिगत लामो समय देखि विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरिरहेको थियो । गर्मी र तातो हावा ‘लु’ सुरु भएसंगै वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई शुक्रवार छाता वितरण गरेको हो ।
रेडियो फेमस एफ.एम ९४.३ मेगाहर्जको आयोजना र ॐ बि.सी. मेडिकल हल राँझाको आर्थिक सहोयोगमा होली मिलन तथा ज्येष्ठ नागरिकहरुलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।
रेडियो फेमस एफएम का अध्यक्ष कृष्ण प्रशाद चौधरीको अध्यक्षतामा सम्पन्न छाता वितरण कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष दिनेश कुमार थारु र विशिष्ट अतिथि बि.सी. मेडिकल हलका हिरा सिंह चौधरीद्वारा जेष्ठ नागरिकहरुलाई शुभकामना दिदैं छाता बितरण गरिएको हो ।
बैजनाथ गाउँपालिका- ७ का अध्यक्ष तथा प्रमुख अतिथि थारुले ज्येष्ठ नागरिकलाई सम्मानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।
वडाभित्रका ८० वर्ष माथिका २८ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप छाता वितरण गरिएको एफएमका अध्यक्ष चौधरीले जानकारी दिएका छन् । आगामी दिनहरुमा पनि सबैलाई समेटेर सबैको सल्लाह अनुसार कार्यक्रमहरु संचालन गरिने अध्यक्ष चौधरीले बताए ।
ॐ बि.सी. मेडिकल हलका चौधरीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै छाता वितरण गरिएको बताए । उनले भने ज्येष्ठ नागरिकहरुलाई गर्मी र तातो हावा ‘लु’ बाट बच्नका लागि छाता आवश्यक भएकाले उपलब्ध गराइएको हो ।
युवाहरुले सम्मानका साथै छाता वितरण गरेकोे हुँदा ज्येष्ठ नागरिकहरु हर्षित भएका छन् । रेडियो फेमस एफएम ९४.३ मेगाहर्जका प्रबन्ध निर्देशक ध्रुवराज चौधरीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि , ज्येष्ठ नागरिक समाजसेवी , बुद्धिजीवी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।