आयोडिनयुक्त नुनको प्रयोगलाई प्रवर्द्धन गर्दै जन चेतना फैलाउन निरन्तर सञ्चालन गरिएको हो :- नगर जनस्वास्थ्य निरीक्षक बस्नेत

शाख न्यूज    प्रकाशित: २०८१-११-१३ गते   ३३४ पटक हेरिएको

नेपालगन्ज - आयोडिन महिनाको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका स्वास्थ्य संस्थाहरूबाट आयोडिनको महत्वबारे सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । साल्ट ट्रेडिङ नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमार्फत सेवाग्राहीहरूलाई आयोडिनयुक्त नुन प्रयोगको फाइदाबारे जानकारी दिइएको छ ।

यस अभियान अन्तर्गत विद्यालय तहका विद्यार्थीहरूलाई आयोडिनको आवश्यकता तथा यसको कमीले हुने असरबारे जानकारी  प्रदान गरिनुका साथै गर्भवती महिलाहरूलाई नि:शुल्क आयोडिनयुक्त नुन वितरण गरिने कार्यक्रम रहेको स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द ले बताए ।

यसै क्रममा आज नेपालगन्जमा प्ले-कार्डसहित सन्देशमूलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगर प्रहरी तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले ‘आयोडिनयुक्त नुन प्रयोग गरौँ, स्वस्थ जीवन जिउँ’ जस्ता नारासहितका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।

कार्यक्रममा आयोडिनयुक्त नुनको प्रयोगलाई प्रवर्द्धन गर्दै जन चेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिएको नगर स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइन्छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech