वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा "नागरिक सुनुवाई" कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८१-२-२७ गते   ७८५ पटक हेरिएको

बाँके २७ जेठ - वडा प्रहरी कार्यालय नेपालगन्जको आयोजनामा नागरिक सुनुवाई " कार्यक्रम गरिएको छ । नागरिक सुनुवाई कार्यक्रम आइतबार कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सि को अध्यक्षतामा भएको हो ।

सो कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष समीर प्रताप सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीयवासीहरुलाई सुरक्षाको प्रत्याभूति गराउनकालागि सुरक्षाकर्मिको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै किसिमका विभिन्न सचेतनामूलक कार्यक्रम गर्नु अत्यन्तै आवश्यक रहेको समेत उनले बताएका छन् । 

वडा प्रहरी कार्यालयको आर्थिक वर्ष  २०८०/८१ सम्मको वस्तु स्थिति तथा सम्पादन गरिएका काम कार्वाही र प्रगति विवरण कार्यालय प्रमुख प्रहरी निरीक्षक बि.सि.ले सार्वजनिक गरेका थिए । उनले २०८० साउन १ गते देखि २०८१ जेठ २६ गतेसम्म गरिएका उपलब्धि, समस्या र चुनौतीका लगायतका कार्य विवरण प्रस्तुत गरेका थिए ।

आ.व.२०८०।८१ मा अपराध रोकथाम तथा नियन्त्रणका क्रममा  भन्सार छलि चोरी निकासी भएका बिभिन्न लत्ताकपडा, ईलेक्ट्रोनिक्स सामान, तरकारी लगायतका सामानहरु  ४२ लाख ५ हजार १ सय ६५ रुपैया र  अबैध रुपमा बिक्रि बितरण भैरहेको पटका र प्लास्टिकका मालाहरु रु.६ लाख ५० हजार रुपैयाँ गरि जम्मा ४८ लाख ५५ हजार १ सय ६५ रुपैयाँ मुल्य बराबरको सामान  नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि  भन्सार कार्यालय नेपालगन्जमा पठाइएको प्रहरी निरीक्षक बि.सि.ले जानकारी दिए ।

अदालतबाट फैसला भई बिभिन्न मुद्दाका फरार  भएका   २५ जना प्रतिवादी पक्राउ गरि  (६ बर्ष १ महिना २८ दिन कैद र रु.९३,६५६.२।- जरिवाना असुल) समेत गराइएको बताए ।  लागुऔषध ब्राउनसुगर ६ हजार ६ सय मिलिग्राम सहित ८ जनालाई लागुऔषध ब्राउनसुगर मुद्दामा, चालु मुद्दामा  फरार प्रतिवादीहरु २३ जना पक्राउ , चोरी, लुटपाट, झै-झगडा, कुटपिट, मा.प.से.. ठगी, सवारी दुर्घटना तथा अन्य मुद्दाका २० थान मोटरसाइकल सहित २४१ जनालाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यलय बाँकेमा पठाईएको समेत उल्लेख गरेका छन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिद्यालय, वडा, टोल, सार्वजनिक स्थल लगायतका स्थानहरुमा आत्महत्या सम्बन्धी सचेतनामुलक, साईवर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम, लागुऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम, बालबिबाह तथा बहुबिबाह सम्बन्धी सचेतनामुलक, मानब बेचबिखन सम्बन्धी सचेतनामुलक कार्यक्रम, लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान, जेष्ठ नागरिक दुर्व्यवहार बिरुद्ध सचेतनामुलक कार्यक्रम, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि सचेतनामुलक कार्यक्रम, सरसफाइ कार्यक्रम ,घरेलु हिंसा सम्बन्धी लगायतका कार्यक्रमबाट ९ हजार ४५ जना लाभान्वित भएको जानकारी दिएका छन् ।

लागु औषध ओसारपसार तथा सेवन, कर्तब्य ज्यान, जबरजस्ती करणी, चोरी, लुटपाट, वालबिबाह, वहुबिबाह जस्ता जघन्य किसिमका अपराधहरु, सानोतिनो  विबाद, झै-झगडा, कुटपिट, गाली बेईज्जती, जग्गा जमिन विबाद बाट सृजना झै-झगडाहरु ठाडो उजुरी मार्फत यस कार्यालयमा आउने गरेको बताएका छन । त्यसैगरी  गम्भिर प्रकृतिका अपराधमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई जाहेर गरी अनुसन्धान प्रकियामा पठाउने गरिन्छ भने स-साना विबादलाई दुबै पक्ष राखि दुबै तर्फको हित हुने गरी छलफल गरी समाधान गर्दै आएको उनले भने ।

कानुन पालनामा अधिकांश चेतनाको कमी, प्रहरी र जनताबिच अविश्वास र डरको वातावरण, जनताको प्रहरी प्रति नकारात्मक धारणा सिर्जित हुने भएकाले कार्यान्वयनमा समस्या उत्पन्न हुनुका साथै  प्रहरी कार्यालय तथा ब्यारेक भवन जिर्ण अबस्थामा रहेकाले कार्यालय संचालन तथा आबासमा समस्या, पिडित /सेवाग्राहीमैत्री भौतिक संरचना अभावले गर्दा सुरक्षा नीति कार्यान्वयनमा चुनौती थपिदै गएको निरीक्षक बि.सि.ले जिकिर गरेका छन् 

प्रहरी परिचालनमा सवारी साधनको अभाव तथा भिड नियन्त्रणका सामानहरुको अपर्याप्तता, खुल्ला सिमानाका कारण चोरी तस्करी तथा अन्य अपराधीक गतिबिधिहरु बढ्न सक्ने, अपराधिक घटनालाई लुकाई छिपाई गर्ने तथा राजनैतिक रंग दिने मनोवृति, औद्योगिक तथा व्यापारिक क्षेत्रहरुमा आगलागी हुन गई ठुलो मात्रामा धनजनको क्षेती हुन सक्ने भएकाले बिपद उद्धारको सामाग्रीहरुको अभाव , महिला ब्यारेक नभएको , प्रहरी जनशक्ति अभावका कारण शान्ति सुव्यवस्था कायम गर्न गाह्रो भएको बताएका छन् ।  

 वडा प्रहरी कार्यालय नेपालगंजको जिम्मेवारी क्षेत्र हुँदा  नेपालगंज उप-महानगरपालिकाको क्षेत्र मिश्रित समुदायका मानिसहरु बसोबास गर्ने क्षेत्र भएकाले शान्ति सुरक्षा स्थिति तरल अबस्थामा रहेको उनले भने । सरकारी तथा गैह्र सरकारी कार्यालय, स्कुल तथा क्याम्पसहरु, बिभिन्न कलकारखाना तथा औधोगिक क्षेत्र, धार्मिक दृष्टिले महत्वपूर्ण मानिने बागेश्वरी मन्दिर, गुरुद्धारा, मस्जिद, बौद्ध गुम्बा, चर्च, तथा रमणिय स्थलहरु महेन्द्र पार्क (सानो चिडियाखाना), वाटरपार्क, रानी तलाउ, सिनेमा हलहरु यस कार्यालयको मुख्य सुरक्षा प्रदान गर्नुपर्ने जिम्मेवारी क्षेत्र भएकाले  बिभिन्न सुरक्षा चुनौतिहरुलाई मध्यनजर गर्दै सुरक्षा रणनिति अपनाउदै प्रहरी कार्य गरिएकाले हालसम्मको सुरक्षा व्यबस्था सामान्य रहेको छ जानकारी दिएका छन् । 

सरोकारवाला पक्षहरुसंग सहकार्य गरी समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना अभियान, सरोकार तथा ईच्छुक निकाय, क्लब तथा समुहसंग समन्वय र सहकार्य गरी महिनामा १ पटक सामजिक उत्तरदायित्व र सार्बजनिक सरोकारका कार्य संचालन गरि समस्या समाधानकोलागि प्रयास गरिएको जनाएका छन् । 

लागुऔषध दुर्व्यसन, आत्महत्या न्युनिकरण, साईबर अपराध, मानव वेचबिखन तथा ओसारपसार, सवारी दुर्घटना र महिला तथा बालबालिका बिरुद्ध हुने हिंसाका सम्बन्धमा सचेतना र सुचनाका लागी बिभिन्न जनचेतनामुलक कार्यक्रम संचालन, लागुऔषध नियन्त्रण तथा रोकथामको लागि प्रत्येक वडामा १/१ वटा समिति गठन , स्थानीय क्लब, आमा समुहलाई सहभागी तथा ग्रामिण क्षेत्रमा जुवातास, घरेलु हिंसा, अवैध मदिरा उत्पादन तथा उपभोग आदी नियन्त्रणका लागी सचेतनामुलक कार्यक्रम ,  दैवि प्रकोपका घटना घट्नु अघि र घटिसके पश्चात तत्काल प्रहरी परिचालन तथा सम्बन्धित निकायहरु संग समन्वय लगायत  समस्या समाधान गर्नका लागी  संगठनको तर्फबाट भइरहेको प्रहरी निरीक्षक बि.सि.ले सार्बजनिक गरेका हुन । 

आयोजित नागरिक सुनुवाई कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक हिक्मत राज रेग्मिले गरेका थिए । सो कार्यक्रममा  नेपालगन्ज उप-महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सराफत हुसेन शेष, धार्मिक सद्भाव समिति बाँकेका अध्यक्ष दिपक लोध, कवाड व्यवसायी संघ बाँके अध्यक्ष मोहम्मद उमर हलवाई, वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेका प्र.ब.ना.नि. श्री टेक बहादुर शाह,  नमस्ते गोर्खाली प्रा.लि. का अध्यक्ष बिनोद रिजाल, राजनितिक दलका प्रतिनिधि, समाजसेवी ,जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी, लगायत संचारकर्मिको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech