नेपालगन्ज २३ मङ्सिर - भ्रष्टाचार विरुद्ध नेपालगञ्जमा वाकाथन गरिएको छ । भ्रष्टाचार विरुद्धको आवाजलाई सशक्त बनाउँदै सुशासन प्रबद्र्धनका लागि दबाब सिर्जना गर्न तेस्रो नेपालगञ्ज वाकाथन गरिएको हो । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लब (बास) ले वाकाथन गरेको हो । 'भ्रष्टाचार विरुद्ध एक साथ हिंड्नेछ-बाँके' भन्ने नाराका साथ तेस्रो नेपालगञ्ज वाकाथन सम्पन्न भएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । नेपालगञ्ज वाकाथनमा ह्विल चियर प्रयोगकर्ताहरुले पनि सहभागिता जनाएका छन् ।
नेपालगञ्जको गणेशमान चोकबाट सुरु भएको वाकाथन धम्बोझी चोकमा पुगेर समापन भएको थियो । वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी, पर्चा, पम्प्लेट वितरण समेत गरिएको थियो । वाकाथनका सहभागीहरुले नेपालको झण्डा र भ्रष्टाचार विरुद्धका सन्देशसहितका प्ले-कार्ड बोकेका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।