बाँके १४ मंसिर - बाँकेको नरैनापुर गाउँपालिका वडा नंं. १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नु पर्थ्यो । तर वडा कार्यालयमा नै भत्ता बुझ्न पाए पछि सास्तीवाट मुक्ति पाएकाे हुँदा स्थानियवासी हर्षित भएका छन् ।
घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ। नरैनापुर गाउँपालिकाले वडाबाटै र अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि नरैनापुरका स्थानीयलाई सहज भएको छ ।
बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिका भित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरूलाई सहज भएको स्थानीयहरु बताउँछन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए। उनले आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरेको बताए ।
नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ४ सय ७० जना छन् । सामाजिक शाखा प्रमुख जिवन लाल यादव, सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एम आइ एम अपरेटर गोबिन्द प्रसाद गोडिया, फिल्ड सहायक सुरज कुमार श्रीवास्तव लगायतले भत्ता वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।