नेपालगञ्ज- शुक्रबार राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा नेपालगन्ज पुगेका छन् । राप्रपा नेपाल बाँकेले शनिबार नेपालगन्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा पुगेका हुन् ।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको राप्रपा नेपालका जिल्लाका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताएका छन ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।
सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपेन्द्र बहादुर सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेश गर्नेसमेत पार्टीले जनाएको छ ।