नेपालगन्ज ३० साउन - नेपाली कांग्रेस बाँकेले केन्द्रीय सर्कुलर अनुसार साउन २० गतेदेखि सुरु गरेको 'विशेष आन्तरिक अभियान' को मंगलबार नेपालगन्जमा समापन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टीको आन्तरिक प्रतिष्पर्धामा गुट बनाए पनि अहिले संगठन बनाउने बेला भएको बताए । २०८४ मा कांग्रेसलाई बलियो तागतका रुपमा स्थापित गर्न संगठन निर्माणमा जुट्नुपर्ने गिरीको भनाई छ ।
"अहिले गुट-उपगुट विर्सनुस्, यो संगठन गर्ने बेला हो, गुट बनाउने बेला होइन," गिरीले भने-"आवश्यक भयो भने गुट १५औं महाधिवेशनमा बनाउँला, यो त संगठन गर्ने समय हो ।" पार्टीमा अनुशासन जरुरी रहेको आवश्यकता औंल्याउँदै गिरीले अनुशासन भएन भने संगठन जति बलियो भएपनि अर्थ नरहने उल्लेख गरे ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई आसन र भाषण भन्दा पनि कर्ममा ध्यान दिन आग्रह गरे । अब नेपाली कांग्रेस बाँके कांग्रेस बनाउन घर-घरमा पुग्ने उद्घोष गौडेलले गरे । २०८४ को निर्वाचनमा बाँकेमा काँग्रेसलाई एक्लै लड्ने शक्तिका रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्दै उनले पार्टी हित विपरीत काम गर्नेहरुलाई तत्काल कार्वाही गरिने चेतावनी दिए ।
कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व जिल्ला उपसभापति गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादसाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोलेका थिए ।पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । पार्टी सचिव सुधांशु कोइरालाले कार्यक्रमको संचालन गरेका थिए ।