पीडित दम्पति द्वारा छोरी रेश्मालाई आफन्त र अगुवा मिलेर बेपत्ता बनाएको आरोप

शाख न्यूज    प्रकाशित: २०८०-३-२१ गते   ५२३ पटक हेरिएको

नेपालगन्ज २१ असार - बाँकको डुडुवा गाउँपालिका -१  होलियाका नारायण कुर्मी दम्पतीले आफ्नी १९ वर्षीया छोरी रेश्मालाई आफन्त र गाउँका अगुवाले मिलेर बेपत्ता बनाएको आरोप लगाएका छन् ।

नारायणकी श्रीमती सिपुरीले गत बैशाख २ गतेदेखि छोरीलाई बेपत्ता बनाएको बताए । नेपालगञ्जमा आज पत्रकार सम्मेलन गर्दै नारायण दम्पतीले आफ्नो छोरी ल्याइदिन आग्रह गरेका छन् । आमा सिपुरीका अनुसार छोरी रेश्माको नेपालगन्ज-१३ गंगापुरमा विवाह भएको थियो ।

श्रीमानको मृत्यु भएपछि रेश्मा माइती घरमा आएर बसेकी थिइन् । माइतीमा बसेकी छोरीलाई आफन्त पर्ने केतिया, आरती, पवन र दिनेश कुर्मीले फकाएर भारतमा लगेर विवाह गरिदिएको सिपुरीले बताइन् ।

नारायण दम्पतीका अनुसार रेश्मालाई भारत बहराइच जिल्ला अजकवा गाउँका इन्द्रजित कुर्मीको छोरासँग विवाह गरिदिएका छन् । तर, छोरी ज्वाईसँग भेट्न नपाएको उनीहरुको भनाई छ । आमा सिपुरीले भनिन्- ‘छोरीको विवाह गरिदिएको भन्ने सुनेको छु । विवाह गरिदिएका हुन् कि बेचिदिएका हुन्, थाहा छैन । मेरो छोरी मलाई चाहियो ।’

रेश्मालाई इन्द्रजितका छोरासँग विवाह गर्नका लागि एमाले नेता एवम् लुम्बिनी प्रदेशका पूर्व मन्त्री विजय यादवले पनि सहयोग गरेको नारायण दम्पतीको आरोप छ । रेश्माको विवाह खर्च भनेर दिनेशमार्फत आएको ६० हजार भारतीय रुपैयाँ विजयले बुझेको पीडितले संचारकर्मिहरुलाई बताए।

नारायण दम्पती छोरी फिर्ताका लागि कानुनी प्रक्रियामा जाने तयारीमा छन् । कानुनी प्रक्रियामा जान खोज्दा यादवले रोक्दै आएको पीडित दम्पतिको भनाई छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech