उपमहानगरको बजेट १ अर्ब ६७ करोड

शाख न्यूज    प्रकाशित: २०८०-३-९ गते   ४७४ पटक हेरिएको

नेपालगञ्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोडनेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १३औं अधिवेशन आज सुरु भएको छ । नगरसभाको १३औं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका हुन् । 

उपप्रमुख राईले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि १ अर्ब ६७ करोड ५६ लाख १ हजार ५ सय ८७ रुपैयाँको अनुमानित आय व्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गरेका हुन् । यो बजेट चालू आर्थिक बर्षको भन्दा ४ करोडले बढी हो । चालू आर्थिक बर्षका लागि १ अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको हो । 

No description available.नेपालगञ्ज उपमहानगरपालिकाले आन्तरिक आय १८ करोड र राजश्व/अनुदान बचत मौज्दात २० करोड हुने अनुमान गरेको छ । कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार र प्रदेश सरकारहरुबाट प्राप्त हुने अनुदान भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाइने उपप्रमुख राईले बताए । 

No description available.

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख विष्टले आगामी आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रबद्र्धनलाई प्राथमिकता दिइएको बताए । नीति तथा कार्यक्रममा विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच बर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थ डेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ । 

नीति तथा कार्यक्रममा आगामी २ बर्षभित्र १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारसंग पहल गर्ने, ६० बर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवम् सम्मानसहित विदाई गरिने, प्लाष्टिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ विरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीहरुको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौं हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीहरुलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै समृद्धि सम्भव छ सहकारीमार्फत भन्ने वातावरण निर्माण गर्दै लैजाने, कृषि उपजमा नेपालगञ्जलाई आत्मनिर्भर बनाउने, सामाजिक सुरक्षा भत्ता विद्युतीय प्रणाली (इउफटी) मार्फत उपलब्ध गराउने, सामुदायिक कुकुरलाई बन्ध्याकरण गरी आवश्यक व्यवस्थापन गरिने, सुशासन कायम गर्नका लागि हेल्प डेस्क, डिजिटल नोटिस बोर्ड, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, अतिक्रमण भएका सडकपेटीहरु खाली गराई व्यवस्थापन र अनुगमन गर्ने उल्लेख छ ।  प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गर्दै आजको बैठक स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । थप छलफल गर्न अर्को बैठक बोलाइनेछ । 

No description available.

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech