दाङ २६ जेठ - दाङको लमही नगरपालिका -९ अमिलियाबाट बिहीबार २ जना पक्राउ परेका छन ।
लमही नगरपालिका- ९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका - ७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका -३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।