नेपालगन्ज २७ फागुन - बर्खा अगावै काम सक्ने गरी नेपालगन्जका नाला सफाई गर्न थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगन्जलाई जोगाउन यहाँका साना ठूला सबै नाला सफाई गर्न थालिएको हो । यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाई गर्ने गरिए पनि बर्षौंदेखि सबै नाला आमरुपमा सफा गरिएको छैन । दुई वटा प्याकेजमा नाला सफाई गर्ने गरी काम सुरु गरिएको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम थालिएको छ । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,” उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले भने, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौं ।” जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिने शर्माले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्माले शनिवार भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाईको अवलोकन गरेका छन् । नाला सफाई कार्यको अवलोकनमा पुगेका नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।
“नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्था छ, कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था छैन, त्यसैले मान्छे नै लगाएर सफाई गरिरहेका छौं,” नगर प्रमुख विष्टले भने, “सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ।” विष्टले बताए । “विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, अब हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेका छौं, दुई चरणमा काम गर्छौं, पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गर्छौं, यसले नेपालगन्जलाई डुबान हुनबाट जोगाउनेछ,” उनले भने । एक महिनामा सफाई सक्ने गरी काम अघि बढाइएको छ ।