‘जनतासँग मेयर’ को दोस्रो श्रृङ्खला कोहलपुर - १५ मा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-११-२७ गते   ३०८ पटक हेरिएको

कोहलपुर - कोहलपुर नगरपालिकाको जनता र जनप्रतिनिधिलाई जोड्ने कार्यक्रम ‘जनतासँग मेयर’को दोस्रो श्रृङ्खला पूरा भएको छ । कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर जनताका समस्या र सुझाव सुन्न जनतासँग मेयर कार्यक्रम सुरु भएको हो । नगरपालिकाका पन्ध्र वटै वडामा चल्ने जनतासँग मेयर कार्यक्रमको दोस्रो श्रृङ्खला आज वडा नम्बर १५ मा गरिएको हो। 

स्थानीय राजनीतिक दल, समाजसेवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेले जानकारी दिए ।  स्थानीयबासीहरुले विकास निर्माणका सवालमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेका थिए । उनीहरुले आफ्नो वडामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने गरी कार्यक्रम गर्न नगरपालिकालाई सुझाएका थिए । 

आफ्नो वडाका अधिकांश मानिसहरु कृषि कर्ममा रहेकाले उनीहरुलाई समेट्ने गरी नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरेका थिए । स्थानीय दयाराम विकले कृषिमा अनुदान पहुँचवालाहरुले मात्रै पाउने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । उनले बास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह गरे । त्यस्तै अन्य स्थानीयबासीहरुले चौधरिया चोकदेखि ताराको घरसम्म जाने बाटो अलपत्र पारिएको विषयमा नगर प्रमुख पूर्णप्रसाद आचार्यको ध्यानाकर्षण गराएका थिए । 

स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख आचार्यले बताए । उनले कोहलपुर नगरपालिकालाई समृद्ध बनाउने गरी आफूहरु लागि परेको स्पष्ट पारे । कोहलपुर नगरमा सन्तुलित विकास गर्ने आफ्नो योजना भएकाले वडा नम्बर १५ लाई पनि समृद्ध बनाउनतर्फ आफू लागेको उनको भनाई थियो । ‘अन्य वडा भन्दा यो वडा विकासमा पछि पारिएको छ, उनले भने–‘वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्ने बाटो कालोपत्रे हुनैपर्छ । अन्य बाटोहरुको पनि स्तर बृद्धि हुन्छ । कुनै वडा समृद्ध हुँदा कुनै वडामा समस्या नै समस्या भन्ने हुँदैन , सबै वडाको सन्तुलित विकास हुन्छ ।’ उनले ठेक्का लिएर समयमा निर्माणको काम पूरा नगर्ने ठेकेदारमाथि कारवाही हुने समेत चेतावनी दिए । उनले अबको पाँच वर्षभित्र कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय छानामुक्त बनाउने नगरपालिकाको योजना रहेको पनि सुनाए । उनले आफ्नो गाउँटोलको विकासमा चासो राख्न स्थानीयबासीलाई समेत सुझाव दिए । 

वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारु लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech