प्रधानमन्त्री दाहाललाई थप ८ गरि १६ मन्त्रालयको जिम्मेवारी

शाख न्यूज    प्रकाशित: २०७९-११-१६ गते   ८९९ पटक हेरिएको

नेपालगन्ज - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप आठ मन्त्रालयको कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषदमा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी हुन् । नेकपा (एमाले) का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका थिए ।

उनीहरुले सम्हालेको मन्त्रालय अब भने प्रधानमन्त्री दाहालले नै सम्हाल्ने भएका छन् । यो सँगै प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech