राष्ट्रपतिद्वारा ३९५ जना कैदीबन्दीको सजाय माफ

शाख न्यूज    प्रकाशित: २०७९-११-६ गते   २८५ पटक हेरिएको

नेपालगन्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा जन्मकैदसहित अन्य कसुरमा सजाय भोगिरहेका ३९५ जना कैदीबन्दीको सजाय माफी गरिदिएकी छिन् ।  

मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा फागुन ८ गतेबाट लागू हुने गरी उनीहरुको सजाय मिनाहा गरिएको हो । त्यस्तै विष्णुकुमार लिम्बूको पनि कैद भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी गरिएको छ । 

त्यसैगरी राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसका आधारमा गौतम समेतका १४ जना व्यक्तिलाई पनि माफी दिइएको छ । विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम उनीहरुमाथि लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसको उपलक्ष्यमा माफी गरिएको हो । 

गौतम २०५५ सालमा ओखलढुंगामा उज्जनकुमार श्रेष्ठ हत्यामा संलग्न मध्येका एक हुन् । उनीविरुद्धको मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्चले समेत गौतमलाई दोषी ठहर गरेको थियो । हाल उनी केन्द्रीय कारागारमा कैद सजाय भोगिरहेका छन् ।

त्यतिमात्र हैन राष्ट्रपतिले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई पनि माफी दिएकी छिन् । चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुंगो नलाग्दै सरकारले माफी दिएको हो ।

उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रेशम चौधरीको रिहाइ माग गरिरहेका बेला सरकारले अरुणलाई माफी दिएको हो । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारहरूको जरिवाना रकम माफी मिनाहा भएको छ ।

यस्तै फागुन ७ गते, प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले गत बैशाखमा सम्पन्न भएको स्थानीय तहका उम्मेदवारहरूको जरिवाना माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

समयमै निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवना तोकेको थियो । राष्ट्रपति उनीहरुको जरिवाना माफ गरिदिएकी हुन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech