नक्कली नोट सहित ३ जना र ब्राउन सुगुर सहित ३ जना गरि पक्राउ परेका ६ जना सार्वजनिक

शाख न्यूज    प्रकाशित: २०७९-११-४ गते   ३६८ पटक हेरिएको

नक्कली नोट सहित ३ जना (दायाँ) र ब्राउन सुगुर सहित ३ जना (बायाँ)

नेपालगन्ज ४ फागुन - बाँकेको नेपालगन्जबाट ५ लाख ६९ हजार नेपाली नक्कली नोटसहित पक्राउ परेका तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–४ स्थित न्यूरोडबाट फागुन २ गते साँझ साढे ५ बजेतिर पक्राउ गरेको थियो ।

बाँकेका प्रहरी नायब उपरीक्षक प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३२ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपिण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् । उनीहरूको साथबाट प्रहरीले एक हजारका नक्कली नोट ५ सय ६९ हजार बरामद गरेको छ । नेपाली नक्कली नोटसहित पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २५७ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको प्रवक्ता घर्तीले सम्मेलनमा बताएका छन्  ।

त्यसैगरी लागूऔषध नियन्त्रण इकाई नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगर–१ स्थित वाटरपार्कबाट माघ २६ गते ५० ग्राम व्राउन सुगरसहित पक्राउ गरेका तीन जनालाई पनि सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम सानोभेरीका २८ बर्षीय तिलक डाँगी, ३३ बर्षीय सोविराम केसी र ३५ बर्षीय विनोदकुमार गौतम रहेका छन् । 

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार परिमाणको आधारमा सजाय हुने भएकाले उनिहरुलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको प्रवक्ता घर्तीले जानकारी दिएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech