प्रेम सिंह एस.के .
नेपालगन्ज २५ पुस - जानकी गाउँपालिकाको वडा नम्बर ३ मानपुरस्थित गाउँ कार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभा सोमबार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा सभा बसेको हो । गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मीले आफुले जानकी गाउँपालिकाको विकासका लागि स्थानीय सरकारसँग निरन्तर सहकार्य गर्ने बताएका छन् ।
गाउँसभाद्वारा प्रेस सल्लाहकार परिवर्तन गरेर प्राइम टेलिभिजन बाँकेका रिपोर्टर पत्रकार रविन्द्र घिमिरेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।
गाउँपालिका अध्यक्ष खाँले आफुहरु निर्वाचित भएर आईसकेपछि छोरी कल्याण कोषलाई कार्यान्वयनमा ल्याएको, सडक, भौतिक पुर्वाधार निर्माण जस्ता कुरालाई प्राथमिकतामा राखेको जानकारी दिएका छन् ।
गाउँपालिकाद्वारा संघ, प्रदेश र जिल्ला समन्वय समितिमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको हो । लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की लगायत जिल्ला समन्वय समदस्यहरुलाई सम्मान गरिएको हो ।
सो क्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए । गाउँसभामा चालू आर्थिक बर्षको वितेको ६ महिनाको बजेट खर्च प्रगतिको समिक्षा र खर्च हुन नसकेको वडा, शाखा तथा गाउँकार्यपालिका कार्यालयबाट रहेको बजेटमा पनि संशोधन गरिएको छ । गाउँपालिकाको अनुदानका शिक्षक एवम् कार्यालय सहयोगीहरुका लागि आगामी ६ महिनाको अपुग ३६ लाख रकम थप गर्ने निर्णय गाउँसभाले गरेको छ । यस्तै वडा नम्बर १ को वडा कार्यालय बनाउन जग्गा खरिदका लागि १० लाख रुपैयाँ थप गर्ने निर्णय पनि गाउँसभाले गरेको सिंहले जानकारी दिए । गएको ६ महिनामा ३१ करोड ६१ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।त्यसैअनुरूप ६ महिनाको प्रगति प्रतिशत ३६.५५ प्रतिशत देखिएको छ ।
सभामा जनप्रतिनिधि, सदस्यहरु, नेपाल रेडक्रसका उपशाखा सभापति एवम् समाजसेवी, निर्माण ब्यवसायी संघ बाँकेका अध्यक्ष, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।