पुस ४ गते गाउँसभा बस्ने सहमतिमा खोलियो ताला

शाख न्यूज    प्रकाशित: २०७९-८-२७ गते   २८३ पटक हेरिएको

डुडुवा (बाँके) २७ मंसिर -   पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपालिकाको सेवासुविधा अब सुचारु हुने भएको छ । यही पुस ४ गते सोमबार दिउँसो २ बजे गाउँसभा बस्ने सहमति भएको छ । 

कार्यपालिकाको आज बसेको बैठकले पुस ४ गते गाउँसभा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिनेछ । वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्नेछन् । त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । 

आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमति गरेपछि सभाको टुंगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार विधि र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानुनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताए । आज भएको सहमति अनुसार सभा बसेमा सबै समस्या समाधान हुने उनको विश्वास छ । 

गाउँपालिकाको गाउँसभा नहँुदा आफूहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीन दिनदेखि कार्यालयमा तालाबन्दी गरी विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति ताकिएपछि उनीहरुले विरोधका सम्पूर्ण कार्यक्रम स्थागित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरी ताला खोलिएको छ  । नयाँ आर्थिक वर्ष २०७९।०८० को गाउँसभा नबस्दा बजेट समेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech