बाँके - बडादसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट घर फर्किने नेपाली नागरिकहरूलाई सीमा नाकामा हुन सक्ने सम्भावित ठगी र सास्तीबाट जोगाउन ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वको मौका छोपेर नाकामा यात्रुहरू लुटिने, अलपत्र पर्ने र यातायातमा बढी भाडा असुलिने जस्ता आपराधिक घटनाहरू रोक्न जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूको संयुक्त समन्वयमा सीमा विन्दुमै एकीकृत सेवा सुरु गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सम्भावित सुरक्षा जोखिमहरूको पहिचान गरी विशेष सुरक्षा योजना लागू गरिएको स्पष्ट पारेका छन् । भारतबाट फर्किने नेपालीले बाटोमा लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर नाकामै सूचना, प्राथमिक उपचार, समन्वय र तत्काल एक्सन लिने गरी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
सीमा क्षेत्रको पहिलो सुरक्षा घेरा सम्हाल्दै आएको सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दले सीमा नाकामा यात्रुहरूको सुरक्षाका लागि विशेष जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् । एसपी चन्दका अनुसार , "चाडपर्वको समयमा नाका भएर भित्रिने नागरिक हाम्रा गौरव हुन्, उनीहरूलाई नेपाली भूमिमा पाइला टेक्नासाथ सुरक्षित वातावरण महसुस गराउनु हाम्रो पहिलो दायित्व हो ।"
उनले सीमा पारिबाट आउने नेपालीहरूको सामान चोरी हुने वा बिचौलियाहरूले दुःख दिने कार्यलाई निरुत्साहितका लागि सशस्त्र प्रहरी टोली खटाइएको बताएका छन् । उनले भने "सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) सँग समेत चुस्त समन्वय गरी चौबीसै घण्टा निगरानीका साथै यात्रुलाई कुनै पनि अप्ठ्यारो परे तत्काल उद्धार गर्न प्रहरी टोली तैनाथ अवस्थामा छ ।"
त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीले जमुनाहा नाकाका साथै यात्रुहरूको चाप हुने नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा समेत सहायता कक्ष सुरु भइसकेको जानकारी दिएका छन् । यी कक्षहरुमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिएर सवारी साधनको सही भाडादर कायम गराउन र यातायात सहजीकरणमा सक्रिय रहनेछन् ।
सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्त रूपमा यात्रुहरूलाई यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नलिन, शङ्कास्पद व्यक्ति वा बिचौलिया देखिएमा तत्काल सहायता कक्ष वा नेपाल प्रहरीको निःशुल्क नम्बर १०० र सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।