बाँकेमा नेपाली कम्युनिस्ट पार्टीको संगठन सुदृढीकरण तथा समीक्षा बैठक सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८३-६-१८ गते   ३६४ पटक हेरिएको

बाँके - ‘संसारका मजदुर एक हौँ’ भन्ने मूल नाराका साथ नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति बाँकेको संगठन सुदृढीकरण, प्रशिक्षण तथा समीक्षा बैठक खजुरास्थित मिनीपार्क रिसोर्टको सभाहलमा सम्पन्न भएको छ।
जिल्ला अध्यक्ष दीपक जिएमको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीकी नेतृ पूर्णाकुमारी सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।

जिल्लाभर सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियान सम्पन्न गरेपछि समीक्षा बैठक आयोजना गरिएको हो। बैठकमा बाँकेका ८१ वटै वडाबाट प्राप्त संगठनसम्बन्धी प्रतिवेदन तथा पालिकास्तरीय प्रतिवेदन प्रस्तुत गरिएको थियो।

सदस्यता नवीकरणमा उत्कृष्ट कार्य गर्ने वडा तथा पालिकालाई कार्यक्रममा सम्मान गरिएको थियो। खजुरा गाउँपालिका–७ लाई जिल्लाकै उत्कृष्ट वडा तथा खजुरा गाउँपालिकालाई उत्कृष्ट पालिकाका रूपमा सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले संगठन सुदृढीकरण र विस्तारका लागि बाँके जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएकी थिइन् । आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन अहिलेबाटै योजनाबद्ध रूपमा मेहनत गर्नुपर्ने उनको भनाइ थियो।

सम्मानित वडा तथा पालिकासहित सम्पूर्ण नेता–कार्यकर्तालाई धन्यवाद दिँदै जिल्ला अध्यक्ष दीपक जिएमले पार्टीलाई थप बलियो बनाउन संगठन विस्तारसँगै नेता तथा कार्यकर्तामा नयाँ जोस र उत्साहका साथ अघि बढ्न आग्रह गरेका छन् । अध्यक्ष जिएमले पार्टीको आगामी राजनीतिक लक्ष्य हासिल गर्न संगठनलाई वडा तहसम्म थप मजबुत बनाउने प्रतिबद्धतासहित कार्यक्रमको समापन गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech