सशस्त्र प्रहरी बाँकेद्वारा विशेष सुरक्षा योजना लागू, अवैध र प्रतिबन्धित वस्तुहरूको आयात रोक्न चेकजाँचमा तीव्रता

शाख न्यूज    प्रकाशित: २०८३-६-१८ गते   २८३ पटक हेरिएको

बाँके -नजिकिँदै गरेका ठूला चाडपर्वहरू (दसैँ, तिहार तथा छठ) लाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, नं. ३० गण हेडक्वार्टर बाँकेले आफ्नो सुरक्षा संयन्त्रलाई अत्यन्तै चुस्त र आक्रामक बनाएको छ । चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधि, अवैध तस्करी र सर्वसाधारणलाई सास्ती दिने घटनाहरू रोक्न सशस्त्र प्रहरी बाँकेले विशेष सुरक्षा योजना लागू गर्दै जमुनाह नाका लगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहले  भन्सार राजस्व चुहावट नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुन सक्ने तस्करीलाई रोक्न निषेधित सामग्रीहरूको आयातमा रोक लगाउदै आएको छ । सरकारले भारतबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानमा ५०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल अनिवार्य गरेपछि सीमामा जाँच थप कडा पारिएको छ।

सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार हुने विभिन्न वस्तुहरु  दैनिक उपभोग्य तथा खाद्य सामग्रीहरु जस्तै केरा, खाने तेल, डाल्डा (घ्यू), अचार, र अण्डा, माछा तथा मासु समावेश छन्। घरेलु तथा वातावरणीय प्रभाव पार्ने वस्तुहरू अन्तर्गत प्लास्टिकजन्य सामग्रीहरू र कोल्ड ड्रिंक्स जस्ता पेय पदार्थहरुलाई राखिएको छ। कानुनी र सुरक्षाका दृष्टिकोणले पूर्ण प्रतिबन्धित श्रेणीमा नक्कली मुद्रा (जाली नोट), अवैध हतियार तथा विस्फोटक पदार्थहरू, र लागु औषध जस्ता गम्भीर प्रकृतिका वस्तुहरु रहेका छन् । यसैगरी, अश्लील सामग्री  बिषादी तथा हानिकारक रसायनहरू, र बिँडी, चुरोट, सिस्टम लगायतका सुर्तीजन्य पदार्थहरुका साथै वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी वस्तुहरु हात्तीको दाँत र बाघको छाला जस्ता वन्यजन्तु तथा तिनका बहुमूल्य अंगहरूको ओसारपसारमा पूर्ण रोक लगाइएको जानकारी दिएका छन् ।

चाडपर्वको समयमा नाकाबाट घरायसी सामानको आवरणमा प्रतिबन्धित र भन्सार छलीका सामान भित्रिने जोखिम उच्च रहने भएकाले आकस्मिक जाँच (सरप्राइज चेकिङ) र गस्ती बढाउनका साथै अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन गर्दै मातहतका बोर्डर आउट पोस्ट (बिओपी) हरुलाई निर्देशन समेत दिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ । 

भन्सार छली ल्याइएका अवैध सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाउने कार्यलाई तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रका सर्वसाधारण तथा यात्रीहरूलाई यात्रा गर्दा वा सामान खरिद गर्दा प्रचलित कानुनको पालना गर्न, भन्सार राजस्व तिरेर मात्र वैध सामान ल्याउन र वर्जित गरिएका प्रतिबन्धित वस्तुहरू ओसारपसार नगर्न कडा अनुरोध गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech