प्लाइउड उत्पादक संघद्वारा २२ लाख बाढीपीडित लाई सहयोग

शाख न्यूज    प्रकाशित: २०८३-५-१५ गते   ७०४ पटक हेरिएको

काठमाडौं - रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारका लागि नेपाल प्लाइउड उत्पादक संघले २२ लाख रुपैयाँभन्दा बढी राहत सहयोग उपलब्ध गराएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङमा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै संघले प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन आफ्ना सदस्य उद्योगी तथा व्यवसायीहरूलाई आर्थिक सहयोगका लागि अपिल गरेको थियो। संघको उक्त अपिलअनुसार उद्योगी तथा व्यवसायीहरूबाट संकलित रु. २२ लाख १ हजार बराबरको राहत सहयोग रकमको चेक सोमबार, १५ गते नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष हस्तान्तरण गरिएको हो।

विपद्को कठिन घडीमा मानवीय सेवाको भावनाका साथ राहत सहयोग जुटाउन योगदान गर्ने संघका सम्पूर्ण सदस्य उद्योगी, व्यवसायी तथा सहयोगी महानुभावप्रति संघले हार्दिक आभार व्यक्त गरेको छ।बाढीपीडितको दुःखमा साथ दिने यस मानवीय अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति संघले कृतज्ञता व्यक्त गरेको छ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे, संस्थापक अध्यक्ष देवानन्द सरावगी लगायतको उपस्थिति रहेको थियो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech