नेपालगन्ज - सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका सामाजिक अभियन्ता तथा गोल्डेन एबिसी एकेडेमी बाँके हाईस्कुलका संस्थापक तथा प्रबन्ध निर्देशक बिकास बहादुर सिंहले ह्वीलचेयर हस्तान्तरण गरेका छन्। मानव सेवाको उच्च भावना राख्दै उनले असाहाय तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूको जीवनमा सहजता ल्याउने उद्देश्यले यो सहयोग गरेका थिए।
अभियन्ता सिंहले बिहीबार प्रजातन्त्र सेनानी श्री रहमत अली जुलाहा (मोलाहे बाबा) लाई एक थान ह्वीलचेयर प्रदान गरेका थिए । 'सहयोग सानो, परिवर्तन महान' भन्ने मूल नारा र विश्वासका साथ समाजका हरेक सदस्यको सम्मानका लागि यो साझा अभियान सुरु गरिएको सिंहले बताएका छन् । समाज सेवामा सधैँ समर्पित रहने मेरो व्यक्तिगत प्रतिबद्धता अनुरूप, असहाय तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूको जीवनमा सानो भए पनि सहजता ल्याउने एउटा प्रयास गरेको उनले जानकारी दिएका छन् ।

"मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो" र "मानव सेवा नै हाम्रो धर्म" भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै आयोजना गरिएको कार्यक्रममा असाहायको सहयोग, अपाङ्गता भएका व्यक्तिहरूको सहयोग, शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । ह्वीलचेयर हस्तान्तरणसँगै प्रजातन्त्र सेनानी मोलाहे बाबाप्रति हार्दिक सम्मान तथा कृतज्ञता समेत व्यक्त गरिएको थियो ।सो कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
