नेपालगन्जमा जारी टि-१० वडा कप क्रिकेटको फाइनल असार ७ गते, विजेताले ३ लाख पाउने

शाख न्यूज    प्रकाशित: २०८३-३-५ गते   ३०७ पटक हेरिएको

नेपालगन्ज ५ असार - लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास डिभिजन कार्यालय बाँकेको आर्थिक सहयोग तथा ज्योति स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी प्रादेशिक टि-१० वडा कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आगामी असार ७ गते हुने भएको छ। उपाधिका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ र वडा नम्बर १२ बीच कडा प्रतिस्पर्धा हुने भएको छ।

यसअघि मंगलप्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भव्य उद्घाटन गरिएको प्रतियोगिताका अन्य खेलहरू कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइएको थियो। युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल खेल तथा समापन भने पुनः मंगलप्रसाद माध्यमिक विद्यालयकै खेल मैदानमा हुने भएको छ ।

प्रतियोगिताको फाइनल खेल र समापन असार ७ गते आइतबार साँझ ३ बजे सम्पन्न हुने एकेडेमीका अध्यक्ष सिद्धान्तराज शाहीले जानकारी दिएका छन्। अध्यक्ष शाहीका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेता टोलीलाई नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रतिस्पर्धा निकै रोमाञ्चक हुने भएकाले सम्पूर्ण खेलप्रेमीहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाइदिन आयोजक टिमले हार्दिक अपिल गरेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech