बाँके – बाँकेको डुडुवा गाउँपालिकाले सुरक्षित बैदेशिक रोजगार सम्वन्धी समुदायस्तरिय सचेतना अभिबृद्धि अभियान शुरु गरेको छ । ग्रामीण क्षेत्रका युवाहरू वैदेशिक रोजगारीमा जाँदा ठगीमा नपरून् र सुरक्षित रूपमा काम गर्न सकून् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो। रोजगारीका लागि विदेश जानुभन्दा अघि थाहा पाउनुपर्ने कुराहरुको बारेमा घरपरिवारका सदस्यलाई जानकारी दिन थालिएको हो । नेपालबाट रोजगारीका लागि जाने अधिकांस युवाहरु दुःख पाउने र केहीको अनाहकमा ज्यान जाने घटनाहरु बढीरहेकाले विदेश जानुभन्दा अघि सबै जानकारी भएमा जोखिमबाट बच्न सकिने बारे जानकारी गराइनेछ ।
डुडुवा गाउँपालिका रोजगार शाखाले पालिकाका सबै वडालाई समेटर गाउँ टोलका अभिभावक, युवालगायतलाई जानकारी दिन लागेको छ । वडा नंं–५ पदमपुरस्थित सामुदायिक अभिमुखीकरण गरिएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सचेतना कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यस्ता कार्यक्रमले पालिकाबासीलाई सचेत बनाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी अभिभावक, युवा, तथा विदेशबाट फर्किएका युवाहरु गरी करिब ५० बढीको सहभागिता रहेको थियो । सुरक्षित आप्रवान -सामी कार्यक्रम अन्तर्गत सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विभिन्न जानकारी प्रदान गरिएको थियो । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा वैदेशिक रोजगारमा जाने युवायुवती तथा तिनका परिवारलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाका रोजगार संयोजक अल्का मिश्रका अनुसार कार्यक्रममा सहभागीहरूलाई वैदेशिक रोजगारमा जानुअघि पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरूका बारेमा विस्तृत जानकारी दिइएको थियो। विशेष गरी नेपाल सरकारबाट अनिवार्य रूपमा लिनुपर्ने श्रम स्वीकृति, रोजगारदाता कम्पनीसँग गरिने द्विपक्षीय सम्झौता र सम्झौताका सर्तहरूका विषयमा युवाहरूलाई सचेत गराइएको छ। यसैगरी, रोजगारीका क्रममा आइपर्न सक्ने जोखिम न्यूनीकरणका लागि म्यादी जीवन बीमाको महत्त्व र वैदेशिक रोजगार बोर्डबाट प्राप्त हुने विभिन्न कल्याणकारी सेवासुविधाहरूका बारेमा पनि जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विदेश जाने युवाले देशको बारे जानकारी लिने, रोजगारीका लागि सिप अनिवार्य हुनुपर्ने सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंहले बताएका छन् । उनले वैदेशिक रोजगारका क्रममा हुने मानव बेचबिखन, ठगी, झुटा प्रलोभन तथा अवैधानिक माध्यमबाट विदेश जाने प्रवृत्तिबाट सावधान रहन आग्रह गरेका थिए । कार्यक्रमका सहभागीले वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डुडुवाको ६ वटै वडामा अभिमुखीकरण कार्यक्रम संचालन गरिने जनाइएको छ ।