गाउँपालिकाका कर्मचारीद्वारा अध्यक्षलाई ध्यानाकर्षण पत्र: कार्य वातावरण नभए कामकाजमा नफर्कने चेतावनी

शाख न्यूज    प्रकाशित: २०८३-२-१५ गते   ४५९ पटक हेरिएको

बाँके १५ जेठ - राप्ती सोनारी गाउँपालिकाको कार्यपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूले कार्यस्थलमा भएको दुर्व्यवहार र कार्य सम्पादनमा अवरोधको विरोध गर्दै गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

गत जेठ १३ गते दिउँसो करिब ३:०० बजे कार्यालय समयमै केही व्यक्तिहरूको समूह हुलहुज्जतसहित कार्यालय परिसरभित्र प्रवेश गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेको र कामकाजमा बाधा पुर्‍याएको भन्दै कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका हुन्।

कर्मचारीहरूद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, "सार्वजनिक सेवा प्रवाहलाई असर पर्ने गरी कर्मचारीहरूमाथि गरिने कुनै पनि प्रकारका अभद्र व्यवहार, धम्की तथा अस्वाभाविक गतिविधि स्वीकार्य हुन सक्दैन।" कानुन बमोजिम आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवकहरूमाथि कार्यस्थलमै सुरक्षा थ्रेट हुनुले समग्र सार्वजनिक प्रशासनमा नकारात्मक असर पर्ने ठहर कर्मचारीहरूको छ।

विज्ञप्ति मार्फत कर्मचारीहरूले कार्यालयमा शान्ति, सुरक्षा र मर्यादित वातावरण कायम गर्न सरोकारवाला सबैसँग संयमता अपनाउन माग गरेका छन्। घटनामा संलग्न पक्षलाई तत्काल कानुनी तथा प्रशासनिक कारबाही गरी सुरक्षित कार्य वातावरण निर्माण नगरिए कामकाजमा फर्कन नसकिने र थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत ध्यानाकर्षण पत्रमा दिइएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech