प्रेम सिंह, बाँके - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, बन्कट्टीस्थित श्री माध्यमिक विद्यालयमा पछिल्लो समय शैक्षिक सुधारसँगै विद्यार्थीहरूको आकर्षण अत्यधिक बढेको छ। तर, विद्यार्थीको चाप अनपेक्षित रूपमा बढे पनि विद्यालयमा भौतिक पूर्वाधार र जग्गाको अभाव हुँदा नयाँ भर्ना नै बन्द गर्नुपर्ने दुःखद अवस्था सिर्जना भएको छ। शाख न्यूज टिमसँगको विशेष कुराकानीमा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खनाल र कम्प्युटर शिक्षिका बिना सापकोटाले विद्यालयको वर्तमान अवस्था, प्रगति र भोग्नुपरेका विविध चुनौतीहरूबारे विस्तृत जानकारी दिएका छन् ।-

# चारवर्षमा शैक्षिक फड्को र उत्कृष्ट नतिजा:-
- कम्दीस्थित विद्यालयबाट सरुवा भई यस विद्यालयमा प्रधानाध्यापक (प्रअ) को रूपमा कार्यभार सम्हालेको चार वर्षको दौरानमा विद्यालयले ठूलो परिवर्तन गरेको प्र.अ पुरुषोत्तम खनालले बताएका छन् । सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त प्रयास र एकजुटताका कारण विद्यालयलाई गाउँपालिकाकै अग्रस्थानमा पुर्याउन सफल भएको उनको दाबी छ । यसकै सुखद नतिजा स्वरूप यस वर्षको एसईई (SEE) परीक्षामा विद्यालयका ५० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन विद्यालय सफल भएको छ । यसका साथै कक्षा ८ को परीक्षाको नतिजा पनि अत्यन्तै उत्कृष्ट रहेको विद्यालय प्रशासनले जनाएको छ ।
# ‘लर्निङ बाई डुइङ’ र प्रविधिको प्रयोग :-
- विद्यालयले परम्परागत शिक्षण पद्धतिभन्दा फरक ढंगले सिकाई कार्यलाई बढी फोकस गरेको छ । "पढाउने सबैको कर्तव्य हो, तर हामी विद्यार्थीलाई अव्वल बनाउन चाहन्छौं। त्यसैले 'लर्निङ बाई डुइङ' (आफै गरेर सिक्ने) प्रणाली अन्तर्गत शिक्षकभन्दा विद्यार्थीलाई बढी एक्टिभ (सक्रिय) बनाएर अगाडि बढाइरहेका छौं," प्रअले बताएका छन् । विद्यालयका सम्पूर्ण कक्षाहरूमा परियोजना कार्यहरू (Project Works) समेत लागू गरिएको छ र हाल बिहानी कक्षा समेत सञ्चालन भइरहेको छ । आधुनिक सिकाईका लागि विद्यालयमा स्मार्ट बोर्ड र वाइफाइको व्यवस्था गरिएको छ ।

#स्कुल पूर्ण रूपमा एउटा प्रणालीमा :- -कम्प्युटर शिक्षिका बिना सापकोटाका अनुसार स्कुल पूर्ण रूपमा एउटा प्रणालीमा चलिरहेको छ त्यसैले विद्यार्थीहरू कम्प्युटर पढ्नका लागि निकै उत्साहित र आतुर भएर कक्षामा आउने गरेका छन् । सापकोटाले नै इमिस (IEMIS) सफ्टवेयर मार्फत विद्यार्थीहरूको संख्या, छात्र र छात्राको अनुपात, छात्रवृत्ति पाउनेहरूको विवरण लगायतका सम्पूर्ण बायोडाटाहरू डिजिटल रूपमा चुस्तदुरुस्त राख्ने कार्य भइरहेको बताइन् ।
# नयाँ भर्ना रोक्नुपर्ने बाध्यता र जग्गाको समस्या:-
- शैक्षिक सुधारका कारण नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूको भर्ना अत्यन्तै उत्साहजनक र चाप बढी छ । प्रत्येक कक्षामा नयाँ विद्यार्थी भरिभराउ भएपछि विद्यालयले जेठ ७ गतेबाट भर्ना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वास्तवमा थप भर्ना लिन सक्ने अवस्था अहिल्यै अन्त्य भइसकेको प्रअले जानकारी दिएका छन् । "हामीसँग सेक्सन बाँड्नका लागि थप कोठाहरू छैनन् र कोठा बनाउनका लागि पर्याप्त फिल्ड (जग्गा) पनि छैन," प्रअले दुःख व्यक्त गर्दै भने, "विद्यार्थी आउनु सकारात्मक पक्ष हो, तर ठाउँ अभावका कारण प्लिज अर्को स्कुल लैजानुस् भन्नुपर्ने अवस्था विद्यालयका लागि ज्यादै दुःखद छ , मेरो एउटा कक्षाका विद्यार्थीहरु पूरै स्कुलका विद्यार्थी बराबर छन् ।"
विद्यालयको हालको जग्गा ऐलानी रहेको र स्कुलको नाममा लालपुर्जा नआइसकेका कारण नयाँ बिल्डिङ थप्न सरकारी नीति बाधक बनेको छ । ऐलानी वा वन क्षेत्रको जग्गामा भौतिक पूर्वाधार बनाउन नदिने कडा सरकारी नीतिका कारण विद्यालयले चाहेर पनि भौतिक संरचना थप्न सकेको छैन। विद्यालयको केही जग्गा अलि पर छुट्टै ठाउँमा भए तापनि टाढा भएकाले त्यसको रेखदेख र त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नभएको उहाँले प्रष्ट पारेका छन् । गाउँपालिकाले पनि तुरुन्तै भवन बढाउन नसक्ने र आगामी दिनमा क्रमिक रूपमा यो समस्या हल हुने अपेक्षा गरिएको छ ।
# पूर्णरूपमा निःशुल्क शिक्षा र आर्थिक संकट:-
- श्री माध्यमिक विद्यालय बन्कट्टी पूर्ण रूपमा निःशुल्क विद्यालय हो । विद्यालयले कुनै पनि बहाना वा सर्तमा विद्यार्थीहरूबाट एक रुपैयाँ पनि शुल्क लिने गरेको छैन वर्षमा एकपटक सरस्वती पूजा गर्दा फुलप्रसादी किन्नका लागि कक्षागत रूपमा १० वा २० रुपैयाँ मात्र स्वेच्छिक सहयोग उठाइने गरेको छ । नेपाल सरकारले विद्यालय सञ्चालनका लागि वार्षिक २५,००० रुपैयाँ मात्र प्रशासनिक व्यवस्था गरेको र सोही मातहतमा सबै खर्च चलाउनुपर्दा विद्यालय ठूलो आर्थिक अप्ठ्यारोमा छ । स्मार्ट बोर्ड र प्रविधिको प्रयोगका लागि वाइफाइ अनिवार्य छ र विद्यालयमा महिनाको ३ देखि ४ हजार रुपैयाँ त बिजुलीको बिल मात्र आउँछ । नेपाल सरकारले वाइफाइ र अन्य प्राविधिक कुराका लागि १२,००० को व्यवस्था गरे तापनि सामग्रीहरू बिग्रिएमा मर्मत खर्च धान्न गाह्रो छ उनले बताएका छन् । विद्यालयको आफ्नै कुनै आन्तरिक स्रोत नभएकाले व्यवस्थापन कठिन भएको प्रअले सुनाएका छन् । अभिभावकहरूबाट थप कक्षा वा मर्मतका लागि सानो सहयोग शुल्क मात्र संकलन गर्न पाए पनि विद्यालय सहज रूपमा चल्ने भए तापनि सरकारको 'कुनै पनि नाममा शुल्क लिन नपाइने' नीतिका कारण हालसम्म त्यसो नगरिएको उनले जानकारी दिएका छन् ।
# बुटवलको कालिका माविको शैक्षिकभ्रमणबाट सिकेको पाठ :-
- विद्यालयको स्तरलाई थप उकास्न प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकहरूको टोलीले देशकै नमुना विद्यालय बुटवलस्थित 'कालिका मानवज्ञान माध्यमिक विद्यालय' को शैक्षिक भ्रमण गरेको थियो । "त्यो विद्यालय कसरी देशकै सर्वोत्कृष्ट बन्यो भनी अध्ययन गर्दा, कति पनि शुल्क नलिई विद्यालय अगाडि बढ्न नसक्ने देखियो," प्रअले अनुभव साट्दै भने, "त्यहाँ ३६५ जना शिक्षकहरू हुनुहुँदो रहेछ, जसमा नेपाल सरकारले जम्मा २७ जना मात्र दिएको छ र बाँकी शिक्षकहरू अभिभावकको सहयोग र आन्तरिक स्रोतबाट राखिएको पाइयो । त्यहाँ विद्यार्थीका लागि ३५ रुपैयाँमा टिफिन र शिक्षकका लागि ९० रुपैयाँमा खाना खाने क्यान्टिन र कोचिङ कक्षाको राम्रो व्यवस्था रहेछ ।" कमजोर विद्यार्थीहरूको स्तर उकास्न थप अतिरिक्त कक्षाहरू अनिवार्य भए पनि अभिभावकहरू अतिरिक्त शुल्क बुझाउन तयार नहुँदा र विद्यालयले अभिभावकको मन जित्न नसक्दा बन्कट्टीमा यो प्रणाली लागू गर्न नसकिएको उनले स्वीकार गरेका छन् ।
# दिवा खाजा व्यवस्थापन र जनशक्तिको अभाव:-
- नेपाल सरकारको नियम अनुसार विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई हप्ताको ५ दिन दिवा खाजा खुवाउने गरिएको छ । सरकारले दिने रकमले सहज रूपमा खाजा चलाउन अप्ठ्यारो भए तापनि बालबालिकालाई चाउचाउ, बिस्कुट जस्ता 'जंक फुड' नखुवाई पोषिलो खाजा दिने गरिएको छ । जसअन्तर्गत कहिले भुटेको चना, कहिले हलुवा, कहिले खिर त कहिले मौसम अनुसारका फलफूलहरू महिनामा एक–दुई पटक खुवाउने व्यवस्था मिलाइएको छ । तर, विद्यालयमा भौतिक व्यवस्थापनका लागि दरबन्दीको ठूलो अभाव छ ।विद्यालयमा एक जना मात्र परिचर (कार्यालय सहयोगी) रहेकाले उनैले विद्यालय पनि सफा गर्नुपर्ने र खाजाको व्यवस्थापन पनि गर्नुपर्ने ज्यादै अप्ठ्यारो परिस्थिति छ । स्कुलमा चौकीदार समेत नहुँदा विद्यालयलाई सुव्यवस्थित ढंगले अगाडि बढाउन बाधा पुगेको प्रअले उल्लेख गरेका छन् ।
# कडाअनुशासनरसमयकोपालना:-
- विद्यालयमा अनुशासन र समयको पालनालाई कडाइका साथ लागू गरिएको छ । साढे ९ बजेभन्दा ढिलो आउने विद्यार्थीलाई विद्यालय भित्र प्रवेश गर्न नदिने नियम (उर्दी) जारी गरेपछि विद्यार्थीहरू एकदमै समयमा आउने गरेका छन् र पढाईमा कुनै लापरवाही छैन । शिक्षकहरू पनि ठिक समयमा आउने गर्छन् । कुनै विद्यार्थी विद्यालय समयमा बिरामी परेमा वा आकस्मिक काम परेमा प्रअ, सहायक प्रअ वा कक्षा शिक्षकको अनुमति र अभिभावकले जानकारी गराएको अवस्थामा मात्र बाहिर जान पाउने व्यवस्था छ । समयमा स्कुल आउने, समयमै बिदा हुने र सरहरू सबैभन्दा अन्तिममा निस्कने परिपाटी बनेकोमा प्रअले गर्व महसुस गरेका छन् ।
# १० बुँदे नियम र अभिभावकसँग प्रतिबद्धता:-
- विद्यार्थीको चौतर्फी विकासका लागि प्रअले शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षले पालना गर्नुपर्ने गरी १० वटा नियमहरू (Rules) बनाएका छन् । किताब वितरण गर्ने क्रममा र कक्षागत रूपमा (कक्षा ५ र कक्षा ८ का अभिभावकहरूलाई छुट्टाछुट्टै बोलाएर) अभिभावकहरूसँग अन्तरक्रिया र प्रतिबद्धता (Commitment) लिइएको छ । "विद्यार्थीहरू ६ घण्टा स्कुलमा र १८ घण्टा घरमा अभिभावकसँग हुन्छन् । अनुसन्धान गर्दा अभिभावकले बच्चालाई एकदमै कम चासो दिएको पाइयो," प्रअले भने, "त्यसैले हामीले अभिभावकहरूलाई बच्चाको अगाडि झगडा नगर्न, गलत काम नगर्न र घरमै पहिलो संस्कार सिकाउन अनुरोध गरेका छौँ, किनकि पहिलो स्कुल घर नै हो ।" अबका दिनमा प्रत्येक महिना अभिभावकसँग अन्तरक्रिया गरिने र जेठ महिनाबाट विद्यार्थीमा आएको परिवर्तन, उनीहरूको पढ्ने समय बढे/नबढेको र संस्कारको आत्मसात्करणको आत्म–मूल्याङ्कन (Self-Measurement) गरिने रणनीति विद्यालयले लिएको छ ।
## शिक्षक दरबन्दी मिलानमा केही प्राविधिक त्रुटि:-
- हाल शिक्षक सरुवाको चरण चलिरहेको परिप्रेक्ष्यमा यस विद्यालयबाट विज्ञान (Science) विषयको शिक्षकको सरुवा भएको छ । तर, उनको ठाउँमा नयाँ आउन लाग्नुभएको शिक्षक अंग्रेजी (English) विषयको भएकाले विद्यालयको विषयगत आवश्यकता र दरबन्दीबीच मेल खाइरहेको छैन । यद्यपि, गाउँपालिकाले यो भूलवश वा भुलचुक भएको र यसलाई चाँडै मिलाउने आश्वासन र वचन दिइसकेकाले यो समस्या रोक्किएमा दरबन्दी पुग्ने र यही विद्यार्थी चापमा पनि विद्यालय सफलतापूर्वक अगाडि बढ्न सक्ने प्रअले विश्वास व्यक्त गरेका छन् ।
(अन्त्यमा, विद्यालयका गतिविधि हरूलाई मिडिया मार्फत बाहिर समाजमा प्रष्ट्याइदिने अवसर दिएकोमा शाख न्यूजको टिमलाई धन्यवाद समेत दिएका छन् ।)