बाँकेमा विश्व रेडक्रस दिवस मनाइयो

शाख न्यूज    प्रकाशित: २०८३-१-२५ गते   १०४ पटक हेरिएको

नेपालगञ्ज - 'मानवताका लागि एकबद्ध होऔं' भन्ने मूल नाराका साथ ८ मे अर्थात आज विश्व रेडक्रस दिवस बाँकेमा पनि मनाइएको छ । दिवसका अवसरमा जिल्ला शाखा, उपशाखा र सर्कलहरुमा विविध सन्देशमूलक कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइएको हो । हरेक वर्ष ८ मे का दिन रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर विश्वका १९१ रेडक्रस तथा रेक्रिसेन्ट सोसाइटीहरुले यो दिवस मनाउने गर्दछन् । 

दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका निवासी रक्तदाता फरमान अलि सिद्धिकी (सोनु) ले आफ्ना स्वार्गीय बुबा इरसाद अलि सिद्धिकीको (मुन्ना दाई) को तेस्रो बार्षिक पुण्यतिथिको अवसरमा रगत राख्ने फ्रिजर नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रलाई प्रदान गरे । बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दातालाई सम्मान गरी धन्यवाद व्यक्त गर्दै रेडक्रसका विभिन्न सेवा गतिविधिहरुमा स्वयंसेवकहरु एकबद्ध भई गर्दै आएको सहयोग उल्लेखनीय रहेको बताए ।  

बाँके जिल्ला शाखा अन्तर्गत ८ वटै स्थानीय तहको कार्य क्षेत्रमा १७ वटा उपशाखा रहेका छन । ती उपशाखाहरुमा कुसुम, कचनापुर, सोनारी, गंगापुर, बेतहनी, कोहलपुर, बैजनाथ, खजुरा, सितापुर, जानकी, बेलासपुर, पुरैनी, घरवारीटोल, पिप्रहवा, सदरलाइन, बाँकेबगिया र मनिकापुर रहेका छन् । उक्त उपशाखाहरुले आ–आफ्नो कार्य क्षेत्रभित्र विविध कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । 

रक्तसचार केन्द्रमा आयोजित कार्यक्रम बाँके शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, कार्यसमिति सदस्यहरु अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, सरिता ज्ञवाली, खगेसरी भण्डारी र सीता शर्मा पोख्रेल लगायत कर्मचारी र स्वयंसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन रक्तसंचार केन्द्रका इन्चार्ज उपेन्द्र रेग्मीले गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech