सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका

शाख न्यूज    प्रकाशित: २०८३-१-२० गते   १२८ पटक हेरिएको

नेपालगन्ज - हरेक वर्ष मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको 'विभेदकारी सरकारी विज्ञापन बनाम प्रेस स्वतन्त्रता' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका पत्रकारहरुले व्यक्त गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारशिला भएको भन्दै लोकतन्त्रमा सरकार प्रेसमाथि अनुदार बन्ने परिकल्पना नै गर्न नसकिने बताए । उनीहरुले सरकारले निजी मिडिया विरुद्ध आर्थिक नाकाबन्दी सुरु गरेर निजी मिडियालाई कमजोर बनाउन उद्यत रहेको टिप्पणी गरे ।

महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषि चौलागाईले संघीय सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढेको टिप्पणी गर्दै संघीय शासन प्रणालीको अभ्यास भइरहेको मुलुकमा प्रदेश र स्थानीय सरकारहरु निरीह बन्नु चिन्ताको विषय रहेको बताए । उनले प्रदेश र स्थानीय सरकारले संघीय परिपत्र र निर्णयको अवज्ञा गर्न हिम्मत गर्नुपर्ने बताए । उनले पछिल्लो समय पेशागत असुरक्षा बढेको बताए । 

महासंघ बाँके अध्यक्ष नवीन गिरीले प्रेस स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको बताउँदै सरकारले अभिभावकत्व ग्रहण गर्न चुकिरहेको बताए । उनले सरकारको बिभेदकारी विज्ञापन नीति खारेजयोग्य रहेको जिकिर गरे । यो बर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको चित्रण गर्दै गिरीले मिडिया र पत्रकारमाथिको दुर्व्यवहर र आक्रमण बढ्नु चिन्ताको विषय बनेको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा पूर्व अध्यक्ष झलक गैरेले सरकारको यो कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउने लक्ष्यसहित अघि बढेको टिप्पणी गरे । मिडिया बन्द गर्ने सरकारको मनसाय देखिएको उनको आशंका छ । त्यसैगरी पूर्व अध्यक्ष निरज कुमार गौतमले निजी मिडियालाई विभेद गर्ने छुट सरकारलाई नभएको बताए । 

कार्यक्रममा समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्यद्वय मो. आरिफ अन्सारी, हेमन्त विक, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी, पत्रकार टेकेन्द्र बस्याल लगायतले बोलेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech