दिलसराको उपचारमा सबै विधि अवलम्वन गरिएको थियोे- डा.विकास नेपाल

शाख न्यूज    प्रकाशित: २०८३-१-१५ गते   ५२९ पटक हेरिएको

नेपालगन्ज - बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ निवासी ६२ वर्षीया दिलसरा विक अस्वस्थ भएपछि गएको वैशाख ३ गते आफन्तहरुले उनलाई चेकअपकालागि नेपालगन्जस्थित तेजस्वी हार्ट सेन्टरमा ल्याए ।

माथिल्लो पेटको दुखाइ लिएर तेजस्वी हार्ट सेन्टरमा आएकी दिलसरालाई कार्डियोलोजिस्ट डा. विकास नेपालले चेकजाँच गरे । मुटुको इसिजी, इको र इमाइलेस नर्मल देखिएपछि केही दिनको औषधि दिएर उनले पठाए । तर बिरामीको स्वास्थ्यमा सुधार आएन ।

वैशाख ६ गते फेरि आफन्तहरुले दिलसरालाई तेजस्वी हार्ट सेन्टरमै ल्याए । डा. नेपालले बिरामीको थप हिस्ट्री लिए । बिरामीको पूर्ण रुपमा स्वास्थ्य समस्या पहिचानका लागि थप अनुसन्धान, इन्डोस्कोपी तथा मुटुका अन्य जाँचहरु गर्नु पर्ने भएकाले डा. नेपालले दिलसरालाई भेरी अस्पतालमा पठाए ।

टाइमलाइन
वैशाख ६ गते दिउँसो २ः१५ बजे दिलसरालाई भेरी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो । अस्पतालमा भर्ना हुँदा उनको रक्तचाप १२०/८० एमएमएचजी, अक्सिजन स्याचुरेसन ९८ प्रतिशत, शरीरको तापक्रम ९८ डिग्री फारेनहाइट, नाडी १०४ प्रति मिनेट र श्वासप्रश्वास २४ प्रति मिनेट रहेको रेकर्ड छ । उनी पहिलेबाटै हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापकी बिरामी थिइन् ।

त्यसै दिन राति ९ बजे उनलाई मेडिसिन वार्डमा भर्ना गरियो । सुरुमा चिकित्सकले ग्यास्ट्रिकसम्बन्धी समस्याको आशंकामा प्यान्टोप्राजोल, हायोस्पान र एन्टासिड औषधि दिए । ईसीजी, इको तथा ट्रोपोनिन–आई परीक्षण सामान्य देखिएकाले तत्काल मुटुसम्बन्धी गम्भीर समस्या नदेखिएको पाइयो । भोलिपल्ट वैशाख ७ गते बिहान साढे ९ बजेतिर डा. नेपालले राउण्ड लिए । त्यतिबेला पेटसम्बन्धी दुखाइ कम थियो। साँझ ६ बजे फेरि पेटको माथिल्लो भागमा दुखाइ सुरु भयो। पुनः ईसीजी र ट्रोपोनिन–आई परीक्षण गरियो, जसको रिपोर्ट नेगेटिभ आयो ।

वैशाख ८ गते दुखाइ पटक–पटक आउने र बीचमा बिरामी सामान्य देखिने अवस्थाका कारण मनोचिकित्सकको परामर्श लिइयो । त्यहाँ उनलाई ‘एन्जाइटी डिसअर्डर’ को सम्भावना देखियो । अघिल्लो दिन ईसीजी र ट्रोपोनिन–आई नेगेटिभ आएको थियो । एन्जाइटी डिसअर्डरको सम्भावना देखिएपछि एन्जियो गर्नु परेन । वैशाख ९ गते इन्डोस्कोपी गर्ने पालो थियो । तर त्यस दिन हुन सकेन। वैशाख १० गते इन्डोस्कोपी गरियो । एन्डोस्कोपीमा ‘इरोसिभ एन्ट्रल ग्यास्ट्राइटिस विथ सुपरफिसियल पंक्टेट हेमरेज’ अर्थात घाउ र कीटाणु देखियो । त्यसपछि औषधि सुरु गरियो ।

वैशाख ११ गते बिहान डा. नेपालको ओटी थियो । ओटी सकेपछि उनले करिब १२ बजे राउण्ड लिए । बिरामी सहज, स्थिर र लक्षणरहित थिइन्, किनभने एन्टिबायोटिक चढाइएको थियो । सुधारको लक्षण देखिएको थियो । त्यसै दिन अपराह्न ४ बजेतिर फेरि बिरामीलाई दुखाइ सुरु भयो । डा. नेपालको साढे पाँच बजेको काठमाडौं फ्लाइट थियो । उनी एयरपोर्ट लागिसकेका थिए । अस्पतालबाट उनलाई कल गयो। उनी तत्काल फर्किए । बिरामीलाई दुखाइ थियो । फेरि ईसीजी गरियो र ट्रोपोनिन–आई परीक्षण गर्दा रिपोर्ट फेरि नेगेटिभ आयो । मुटुमा समस्या नभएको पुष्टि भयो ।

मुटुको जाँच दोहोराएर गर्दा पनि समस्या नदेखिएपछि उनले बिरामीलाई ग्यास्ट्रो फिजिसियनलाई देखाउन आफन्तहरूलाई आग्रह गरे । त्यसका लागि आफूले सहजीकरण गरिदिने पनि बिरामीका आफन्तलाई बताए । डा. नेपालले बिरामीका छोरा र श्रीमान्लाई अस्पतालमा ग्यास्ट्रो फिजिसियन नभएकाले थप उपचारका लागि सुविधा भएको ठाउँमा लैजान सुझाव दिए । बिरामीको दुखाइ कम हुने र बढ्ने क्रम चलिरहेकै थियो। पटक–पटकको परामर्शपछि पनि बिरामी पक्षले स्थानान्तरण अस्वीकार गरे । बरु उल्टै डा. नेपाललाई गम्भीर अवस्थामा बिरामी पुगेपछि रिफर गर्न थालेको भन्दै आफन्तहरु रिसाए ।

डा. नेपालले आफ्नो तर्फबाट गर्नुपर्ने सबै उपचार विधि पूरा गरेको भन्दै आफन्तहरूलाई सम्झाउने प्रयास गरे । त्यस दिन डा. नेपालले मुटुसम्बन्धी औषधिहरू पनि सुरु गरे । मुटुको रगत पातलो गराउने औषधि सुरु गरियो, किनभने बिरामीलाई दुखाइ पनि रहेको थियो। अर्कोतर्फ बिरामीलाई डायबिटिज, थाइराइड र प्रेसर पनि थियो । मुटुका नशाहरू जाम नहोस् भन्नका लागि उपचारको यो प्रक्रिया अगाडि बढाइयो । भास्टाटिन र नाइट्रोकन्टिन लगायतका औषधि दिइयो ।

वैशाख १२ गते बिरामी सामान्य अवस्थामा थिइन् । दुखाइ पनि भएन । शनिवार भएकाले डा. नेपाल बिदामा थिए । डा. नेपालको नेतृत्वमा रहेका रेजिडेन्स डाक्टरहरुले बिरामीको अवस्था हेरिरहेका थिए । वैशाख १३ गते बिहान ११ बजे बिरामी शौचालय गइन् । शौचालयबाट फर्किने क्रममा उनी ढलिन् । पेट असाध्यै दुख्यो । वान्ता पनि भयो । श्वास फेर्न पनि गाह्रो भयो । डा. नेपाललाई तत्काल ड्युटीमा रहेका मेडिकल अधिकृतले बिरामीको अवस्था सुनाए । डा. नेपालले बिरामीलाई आईसीयूमा राख्न सुझाव दिए ।

करिब ११ः४५ बजे बिरामीलाई आईसीयूमा सारियो। आईसीयूमा गरिएको ईसीजीमा करिब १५० प्रति मिनेटको ‘वाइड कम्प्लेक्स ट्याकिकार्डिया’ देखियो, अर्थात मुटुको चाल गडबड देखियो । मुटुको धड्कन सन्तुलनमा राख्न एमियोडारोन इन्जेक्सन दिइयो । इन्जेक्सन दिएपछि धड्कन ६०/७० मा आयो। तर सास फेर्न गाह्रो भइरहेको थियो। होस पनि कम हुँदै थियो । १०/१५ मिनेट निगरानी गरियो। तर मुटुको धड्कन क्रमशः घट्दै गयो । छाती थिच्ने लगायतका उपचारका प्रक्रिया अवलम्बन गर्दा पनि उनी रिभाइभ भइनन् ।

आफुले उपचार गरिरहेको विरामी मृत्यु होस् भन्ने कुनै चिकित्सकले सोच्न त के कल्पनै गर्न नसकिने डा.नेपाल बताउँछन् । तर आकास्मिक हुने मृत्युलाई भने रोक्न कठिन हुने उनको भनाइ छ । ‘हाम्रोतर्फबाट उपचार प्रक्रियामा कुनैपनि कमी भएको छैन उनले भने–‘हो, बिरामीका आफन्तहरुलाई चित्त नबुझे कानुनी प्रक्रिया छन् । ती बाटोबाट न्याय खोज्न सकिन्छ । तर चिकित्सकहरुमाथि हातपात, दुव्र्यवहार, गालीगलौज, धम्की यो सह्य छैन ।’

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech