नेपालगञ्ज–२ मा सामी कार्यक्रमद्वारा ६ महिने वित्तीय साक्षरता अभिमुखीकरण सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८३-१-८ गते   ११५ पटक हेरिएको

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ६ महिनसम्म चलेको कार्यक्रममा सहभागीलाई हप्ताको एक दिन अभिमुखीकरण गरिएको थियो । सामीका बाँके जिल्ला कार्यक्रम संयोजक कमल सिंह नेपालीका अनुसार उक्त अभिमुखीकरणमा बैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका २५ जना सहभागी थिए ।

सहभागीहरुलाई विदेशबाट प्राप्त रेमिट्यान्सलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, खर्च कटौती गरी बचत कसरी गर्ने, ब्यवसाय प्रबद्र्धन कसरी गर्ने, नयाँ ब्यवसाय सुरुवात कसरी गर्ने र त्यसका लागि आवश्यक सीप तथा तालिमका विषयमा अभिमुखीकरण गरिएको नेपालीले जानकारी दिए । उक्त कार्यक्रमको अनुगमन समेत गरिएको छ । वडा अध्यक्ष मनोजकुमार श्रेष्ठको अगुवाईमा अनुगमन समेत गरिएको जिल्ला कार्यक्रम संयोजक नेपालीले बताए । नगरका सबैजसो वडामा वित्तीय साक्षरता कार्यक्रम गरिएको नेपालीले बताए ।  

सुरक्षित आप्रवासन कार्यक्रमले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सूचनामा पहुँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ । सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech