नेपालगन्ज - खजुरा गाउँपालिकाका बाँकेको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज सम्पन्न सुनुवाईबाट पाँच बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । जवाफदेही बक्ता र सहभागीहरु बीचको अढाई घण्टा लामो प्रश्नोत्तर पश्चात उक्त साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो ।
घोषणा गरिएका प्रतिबद्धताहरुमा बिगाउँ चौकदेखि ज्ञानोदय स्कुल जाने बाटो निर्माणको पहल गर्ने, पालिकाभित्र निर्माणाधीन योजनाहरुको प्रभावकारी अनुगमन गर्ने तथा सडक अतिक्रमण यथाशक्य हटाउने, खजुरा २ गुराँस सामुदायिक वनमा निर्माणाधीन पर्यटकीय स्थलको निर्माण कार्य समय सीमाभित्र सम्पन्न गरी उक्त स्थानलाई पर्यटकीय हवको रुपमा विकास गर्ने, पालिकामार्फत सञ्चालन हुने लक्षित बर्ग उत्थान कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने, पालिकाभित्रका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने नीतिलाई नयाँ शैक्षिक सत्रबाट कडाईका साथ लागू गर्ने र लागुऔषध दुब्र्यसनीका कारण सामाजिक सद्भाव र सुरक्षा जोखिम बढेकाले प्रहरी, नागरिक र सरोकारवालाहरुले न्यूनीकरणका लागि संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथाकार्यक्रमको उद्देश्यमाथि प्रकाश तथा नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । पालिकाको दोश्रो चौमासिकमा भएका क्रियाकलापहरुको प्रगति प्रतिबेदन पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेललले गरेका थिए । खजुरा गाउँपालिकाको सभाहलमा सम्पन्न सुनुवाईमा उठेका प्रश्न, जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष तथा प्रमुख जवाफदेही बक्ता डम्बर बहादुर विक, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए । खजुरा गाउँपालिकाले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्दै आएको छ ।