सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-११-१६ गते   १९३ पटक हेरिएको

नेपालगञ्ज । नेपालगञ्ज फुल्टेक्रास्थित सिद्धार्थ विद्या सदन स्कुलमा शनिबार आयोजित लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित उक्त कार्यक्रममा प्रारम्भिक चरणबाट छनोट भएका करिब ४० जना विद्यार्थीहरूले फाइनल राउण्डमा उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिएका थिए । प्रतियोगिता तीन तहमा सञ्चालन गरिएको थियो । कक्षा १–३, कक्षा ४–६ र कक्षा ७–१० का विद्यार्थीहरूले आ–आफ्नो तह अनुसार नेपाली लोक संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको जोश, सिर्जनशीलता र नेपाली संस्कृतिप्रतिको लगावले कार्यक्रम अझै आकर्षक बनेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्यले विद्यालयले विद्यार्थीहरूमा कला, संस्कृति र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका निर्णायक तथा प्रसिद्ध कोरियोग्राफर केबी शाहीले विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक प्रस्तुतिको उच्च रूपमा प्रशंसा गर्दै यस्ता कार्यक्रमले बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने बताए।

प्रतियोगितामा कक्षा ७–१० तर्फ सजिना पुन मगर प्रथम, श्वेता भण्डारी द्वितीय र झरना बुढा मगर तृतीय भएका छन् । यस्तै कक्षा ४–६ तर्फ परिधि चौधरी प्रथम, हिमानी थापा द्वितीय र समिक्षा शर्मा तृतीय हुँदा कक्षा १–३ तर्फ भने सुनयना अधिकारी प्रथम, रिसियल थारु द्वितीय र मोनिका वली तृतीय भएको विद्यालयले जनाएको छ ।

सहायक प्रधानाध्यापक प्रबीण गिरीका अनुसार कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बज्राचार्य र कार्यक्रमका अध्यक्ष तथा संस्थापक प्रधानाध्यापक धिरज सिंह थापाले संयुक्तरूपमा गमलामा पानी हालेर गरेका थिए । विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको सहायक प्रधानाध्यापक गिरीले बताए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech