नेपालगन्ज ०८ फागुन नेकपा एमालेबाट बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्देवार मोहम्मद इश्तियाक राईले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक-सांस्कृतिक धरोहरहरूको संरक्षण र सम्बर्द्धनमा आफू प्रयत्नरत रहेको जानकारी दिएका छन् ।
शुक्रबार नेपालगन्ज र डुडुवाका विभिन्न वडाहरूमा घरदैलो तथा समूहगत छलफलका क्रममा उम्मेदवार राईले फरक धर्म-संस्कृतिहरू बीच पारस्परिक सम्मान र सद्भाव अभिवृद्धि गर्दै निर्वाचन क्षेत्र नं २ को बेग्लै परिचय स्थापित गर्ने जानकारी दिए।
सामाजिक समबन्धमा मधुरता र खुसहाल वातावरण बनाउन सकेमा नेपालगन्जमा धार्मिक-सांस्कृतिक पर्यटनले बढावा पाउने पनि उनको भनाई थियो। नेपालगन्ज र डुडुवालाई आफूले सधैं समान व्यवहार गर्ने गरेको जिकिर गर्दै राईले नेपालगन्ज र डुडुवाबीच पारस्परिकता अझैं बलियो बनाउन आफू प्रयत्नरत रहेको बताए ।
यसैबीच राईले आजै नेपाल पूर्व प्रहरी संगठनका सदस्यहरूसँग नेपालगन्जमा छलफल गर्नुभएको छ। वहाँले आफू निर्वाचित भएपछि प्रहरीहरूको सेवासुविधा समयानुकूल बनाउन नीतिगत पहल गर्ने आश्वासन दिएका छन् । प्रहरी कर्मचारी र उनीहरूका परिवारको सहज जीवनयापन हुनसक्ने गरी पारिश्रमिक बृद्धि अत्यावश्यक भइसकेको पनि राईको भनाई थियो। राईले आर्थिक अनियमितता रोक्न पनि प्रहरी कर्मचारीहरूको सुविधामा बढोत्तरी गर्नुपर्ने बताएका छन् ।