नेपालगञ्ज २७ माघ - नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समितिले नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति गौडेलले अहिले पार्टीभित्र सकारात्मक वातावरण निर्माण भएको जानकारी दिएका छन् ।
गौडेलले अहिलेको राजनीतिक परिस्थिति काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको छ, काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताएका छन् ।
‘हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं, विधिको शासन कायम गरिनेछ,´ देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाइ थियो । नेता गौडेलले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले पार्टीका महामन्त्री गगनकुमार थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गरेका छन् ।
थापा सभापति बनेपछि काँग्रेस बदलिएर आएको छ, त्यसैले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न समेत आह्वान गर्दै काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने विश्वास व्यक्त उम्मेदवार गौडेलले बताएका छन् ।
भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति तथा बाँके क्षेत्र नं.३ का सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेल लगायले सम्वोधन गरेका थिए । कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा भएको थियो भने संचालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् ।