राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-९-२४ गते   ३६० पटक हेरिएको

प्रेम सिंह एस.के.
बाँके २४ पुस -  राप्तीसोनारी गाउँपालिकाले बिहीबार आफ्नो १८ औँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष मनिषासिंह थारुको सभाध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो । सो सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०८२ र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८२ पनि स्वीकृत गरिएको छ ।

सभामा राप्तीसोनारी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक, २०८२ प्रस्तुत गरिएको थियो । यस विधेयकमार्फत गाउँपालिकाको वित्तीय व्यवस्था प्रणालीलाई थप स्पष्ट र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । 

त्यसैगरि सभामा राप्ती सोनारी गाउँपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ अन्तर्गत  गाउँपालिकामा महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति र अन्य पिछडिएका समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ । नीति अनुसार सबै कार्यक्रम र आयोजना योजनामा सामाजिक समावेशीकरण र लैङ्गिक दृष्टिकोण लागू गर्ने व्यवस्था गरिएको छ ।

उक्त सभामा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, बजेट संशोधन, बेरुजु फछ्र्यौट र करार कर्मचारीको म्याद थप लगायतलाई सर्वसम्मत रुपमा पारित गरिएको छ ।

लेखा समितिले गाउँपालिकाको आर्थिक वर्षको खर्च, राजस्व संकलन र बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रतिवेदन पेश गरेको थियो । लेखा समिति संयोजक केशवराम दमाईले प्रतिवेदन सभामा प्रस्तुत गर्दै भने, ‘गाउँपालिकाको वित्तीय गतिविधिहरू पारदर्शी र नियमन अनुसार सञ्चालन भइरहेका छन्, तर आगामी वर्षहरूमा अझ प्रभावकारी वित्तीय योजना र बजेट व्यवस्थापनको आवश्यकता छ ।’ लेखा समितिको प्रतिवेदन अनुसार, आगामी आर्थिक वर्षको बजेट र मध्यमकालीन खर्च संरचना तयार गर्दा स्रोतको अनुमान, बजेट सीमा निर्धारण, कर राजस्व, गैरकर राजस्व, सेवा शुल्क र दस्तुरको दर निर्धारण गर्नुपर्ने व्यवस्था स्पष्ट गरिएको छ।

त्यसैगरी, बेरुजु फछ्र्यौट गर्ने तथा वडा तथा शाखागत बजेट संशोधन सम्बन्धी विधेयक पारित गरिएको छ भने गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप सम्बन्धी प्रस्ताव पनि सभाबाट अनुमोदन गरिएको गाउँसभाको सचिवको रूपमा प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीका अनुसार सभामा गाउँपालिकाका प्रवक्ता एवम् कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्का, वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल, वडा नम्बर ८ का वडाअध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ९ का वडाअध्यक्ष सोहनलाल चौधरी, कार्यपालिका सदस्य केशव दमाई लगायतले धारणा राखेका थिए ।

गाउँपालिकाले आर्थिक गतिविधिहरूलाई मात्र होइन, स्थानीय उद्योग र व्यवसाय प्रवद्र्धन तथा रोजगारी सिर्जनामा योगदान दिने नीति र कार्यक्रम पनि अघि बढाउने निर्णय गरेको छ । सभामा कार्यपालिकालाई स्थानीय कर नीति निर्माणमा परामर्श दिनु, राजस्व प्रशासन सुधार गर्नु र कर र गैरकर राजस्व, सेवा शुल्क तथा दस्तुरको दर निर्धारण गर्नु जस्ता विषयहरूमा सुझाव दिन आदेश दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बिगत लामो समय देखि  तप्त पौडेलको भारतमा स्वास्थ्य उपचार भैरहेकाले  उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष मनिसा सिंह थारुको सभाध्यक्षतामा १८औँ गाउँसभा सञ्चालन गरिएको थियो । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत ऐडी, लेखा अधिकृत गौरव कुमार लामिछाने, विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech