बाँके - जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेद्वारा नियम विपरीत लेखिएका सवारी साधनहरुलाई तत्काल हटाउन निर्देशन दिनुका साथै आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही सुरु भएको छ ।
सवारी साधन चलाउँदा चालकको ध्यान भंग भई दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै सवारी साधनमा लेखिएका अस्वाभाविक शब्द, वाक्य तथा विभिन्न कोटेशनहरू हटाउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाही जानकारी दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी साधनमा लेखिएका आपत्तिजनक, भ्रामक तथा ध्यान विचलित गर्ने शब्द तथा वाक्यहरूले चालक तथा अन्य सवारी प्रयोगकर्ताको ध्यान सडकभन्दा अन्यत्र मोडिन सक्ने भन्दै यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई लेखाइ हटाउन लगाएको जनाएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी नियमको पूर्ण पालना गर्न सबै सवारी चालकलाई आग्रह गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरी निरीक्षक शाहीले बताएका छन् ।