बाँके - सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनालको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण, बागेश्वरी बाँके र मातहतका चेकपोस्टले सीमा सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नं. ३० गण बाँकेका अनुसार गत फागुनदेखि मंसिर मसान्तसम्म जिल्लाभरमा गरिएका कारबाहीमा ११ करोड ३५ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ । सीमावर्ती क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रणमा कडाई गरिएको जनाइएको छ । बरामद सामानको परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा बढी रहेको छ ।
यस अवधिमा लागुऔषधविरुद्ध गरिएको १५ वटा कारबाहीमा ४३ जना पक्राउ परेका छन् । सीमा सुरक्षा अन्तर्गत १७३ पटक एकल गस्ती तथा २७४ पटक भारतीय सीमा सुरक्षा बलसँग संयुक्त गस्ती सञ्चालन गरिएको जानकारी दिइएको छ । साथै सीमा स्तम्भको सुरक्षाका लागि नियमित रूपमा एकल र संयुक्त गस्ती हुँदै आएका छन् ।
मानव बेचबिखनविरुद्ध ३३ वटा कारबाही गर्दा उद्धार तथा नियन्त्रणमा २७ जना परेका छन् । त्यसैगरी विपद् व्यवस्थापनतर्फ २७ पटक उद्धार तथा राहत कार्य गरिएको छ भने सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गर्दै ४५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
विशेषगरी सीमा अपराध र अवैध तस्करीविरुद्ध आक्रामक रूपमा परिचालन हुँदा उल्लेखनीय सफलता हासिल भएको देखिएको छ । ‘सशस्त्र प्रहरीसँग सीमावासी’ कार्यक्रमसहित सीमा अपराध नियन्त्रणसम्बन्धी विशेष कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् । एसपी शोभाकान्त खनालको नेतृत्वमा सीमा सुरक्षालाई थप सुदृढ बनाउँदै अपराध नियन्त्रण, मानव सुरक्षा तथा जनविश्वास अभिवृद्धिमा निरन्तर सक्रियता बढिरहेको छ ।