नवजात शिशु मृत भनेर बुझाइएको घटनामा भेरी अस्पतालद्धारा प्रेस विज्ञप्ति

शाख न्यूज    प्रकाशित: २०८२-९-३ गते   १४१ पटक हेरिएको

बाँके - भेरी अस्पताल नेपालगन्जमा चिकित्सकले मृत भनेका नवजात शिशु जीवित रहेको पाइएपछि अस्पताल प्रशासनले चिकित्सकबाट कमजोरी भएको स्वीकार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले प्रेस विज्ञप्ति जारी गरेका छन्। 

घटना विवरणअनुसार गएको मंसिर २५ गते अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते शिशुलाई जन्म दिएकी थिइन्। ६१७ ग्राम मात्रै तौलका ती शिशुको २९ गते मृत्यु भएको घोषणा गर्दै चिकित्सकले ‘शव’ आफन्तलाई जिम्मा लगाएर घर पठाएका थिए। 

तर, आफन्तले घर लगेको करिब चार घण्टापछि ती शिशु जीवित रहेको संकेत पाइएपछि परिवारजनले पुनः अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याएको केहीबेरमै ती शिशुको मृत्यु भएको थियो। 

अस्पताल प्रशासनले चिकित्सकले मृत भनेका शिशु पछि जीवित पाइएयो घटनालाई अपवाद भनेको छ। २३ हप्तामै जन्मिएका ६१७ ग्रामका ती शिशुमा अपवादको रुपमा जीवित रहेको संकेत अत्यन्त ढिलोगरि देखिएको विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा २८ हप्ता नपुगेको र एक किलोभन्दा कम तौल भएको शिशुलाई बचाउने प्रयास गरेपनि सम्भावना कम हुने बताएका छन् ।उक्त घटनाले शिशुका परिवारजनमा पर्न गएको पीडाप्रति अस्पताल परिवारले सहानुभूति प्रकट गर्दै माफी मागेको छ । साथै अस्पतालबाट भएको यस्ता कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।
 
अस्पतालले आफ्नो क्षमताअनुसार शिशुको सही उपचार गर्न अधिकतम प्रयास गरेको भएता पनि अस्पतालको तर्फबाट बिरामीका आफन्तहरुलाई सम्भावित परिणामको बारेमा अधिकतम बुझाउनेगरि परामर्श गर्ने विषयमा कमजोरी भएको समेत स्वीकार गरेको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech