नेपालगन्ज - जिल्ला हुलाक कार्यालय बाँकेले संकलन गर्ने राजश्व बृद्धि हुँदै गएको छ । पछिल्लो तीन बर्ष यताको तथ्यांक अनुसार राजश्व संकलन दर बढ्दो क्रममा छ ।
हुलाक कार्यालयका खरिदार राम बहादुर चौधरीका अनुसार आर्थिक बर्ष २०७९/८० मा ५१ लाख ४२ हजार ६ सय ३५ रुपैयाँ राजश्व संकलन भएकोमा आर्थिक बर्ष २०८०/८१ मा बढेर ६५ लाख ७८ हजार ३ सय १५ पुगेको थियो । यस्तै गत आर्थिक बर्ष २०८१/८२ मा ७० लाख ५ हजार ५सय २१ रुपैयाँ राजश्व रकम संकलन भएको छ ।
हुलाक कार्यालयले सोमबार नेपालगन्जमा आयोजना गरेको बैंक तथा वित्तीय संस्था लगायत सरोकारवाला निकायहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा उनले हुलाकले प्रदान गरिरहेका सेवाबारे जानकारी गराउँदै प्रस्तुतिकरण सहित उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।
हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले हुलाकको नयाँ प्रविधि र प्रयोगबारे सेवाग्राहीलाई जानकारी गराउने, सेवा विस्तार र आधुनिकीकरणको आवश्यकता बुझ्ने, सेवाग्राहीको प्रतिक्रिया संकलन गर्ने, सेवा सुधारका उपायहरु पहिचान गर्ने, जनतासंग प्रत्यक्ष संवाद स्थापना गर्ने लगायतका उद्देश्य राखेर अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।थारुले हुलाक सेवाग्राहीको घरघरमा पुगेर सेवा दिने एक मात्र सरकारी कार्यालय रहेको समेत बताए । हुलाकले सुरु गरेको पछिल्लो इएमएस सेवाको प्रभावकारिता र उपयोगितामा पनि कार्यालयले जोड दिएको छ ।
हुलाकले सुरु गरेका थुप्रै सेवाहरुबारे अहिले पनि सेवाग्राही अनभिज्ञ रहेको प्रतिक्रिया दिँदै सहभागीहरुले हुलाक सेवालाई छिटो-छरितो, विश्वसनीय, भरपर्दो र प्रतिष्पर्धी बनाउनुपर्ने सुझाव दिएका छन् । बैंकका प्रतिनिधिहरुले हुलाक कार्यालयले कुरियर जत्तिकै छिटो र प्रभावकारी सेवा दिन सक्नुपर्नेमा जोड समेत दिए ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार दिल कुमार तामाङले हुलाक सेवा सूचना तथा सञ्चारको पुरानो माध्यम भए पनि यसले समयानुकुल सेवा प्रवाह गरिरहेको बताउँदै यस प्रकारको अन्तरक्रिया महत्वपूर्ण भएको बताए ।
हुलाक कार्यालय बाँकेकी प्रशासन प्रमुख शान्ता शाही सिंहले स्वागत गरेकी थिइन् । सो कार्यक्रममा जिल्ला समन्वय अधिकारी हरि प्रसाद देवकोटा, कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सर्वोदय उपाध्याय, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति रहेको थियो ।