बिरामीहरुको प्राथमिकतामा फत्तेवाल आँखा अस्पताल

शाख न्यूज    प्रकाशित: २०८२-८-५ गते   ११८ पटक हेरिएको

बाँके - फत्तेवाल आँखा अस्पताल नेपालगन्जप्रति बिरामीहरूको भरोसा पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांक अनुसार २६ हजार २ सय ४४ जनाले ओपीडी सेवा लिएका छन् । श्रावणमा १० हजार ३ सय ३०, भदौमा ८ हजार ६ सय६५ र असोजमा ७ हजार २ सय ४९ जना बिरामीले सेवा लिएका हुन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले १ लाख ३७ हजार ७ सय ३१ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको थियो भने २०८०/८१ मा यो संख्या १ लाख ३३ हजार ३ सय ३३ रहेको थियो ।

शल्यक्रिया सेवामा पनि वृद्धि

चालु आर्थिक वर्षमा असोजसम्म १ हजार ३ सय २६ जनाले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालका अनुसार श्रावणमा ४ सय, भदौमा ६ सय  र असोजमा ३ सय २६ जना बिरामीले सर्जरी सेवा लिएको अस्पतालको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष २०८१/८२ मा ९ हजार ७ सय ८८ र २०८०/८१ मा ८ हजार ६ सय १२ जनाले शल्यक्रिया सेवा लिएका थिए ।

नेपाल–भारतका बिरामी बराबर, ५०% भारतीय नागरिक

अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा.देवराज भारतीका अनुसार सेवा लिने बिरामीमध्ये करिब ५० प्रतिशत भारतबाट आएका छन् । “पहिला भारतबाट आउने बिरामी अझ धेरै हुन्थे तर सीमावर्ती शहरमा अस्पताल खुल्दा केही घट्यो तर संख्या अझै उल्लेख्य छ,” डा. भारती भन्छन् । भारतका बहराइच, गोण्डा, गोरखपुर, लखनऊ, अयोध्या लगायतका शहरका बिरामी नियमित रूपमा उपचारका लागि फत्तेवाल आँखा अस्पताल आउँछन् । यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।

फत्तेवाल आँखा अस्पताल

स्थापना देखि अहिलेसम्म लाखौँ बिरामीको उपचार

वि.सं. २०४३ मा स्थापना भएको फत्तेवाल आँखा अस्पतालले आर्थिक वर्ष ०८१/८२ सम्म २९ लाख २९ हजार ५ सय ६३ जनालाई ओपीडी सेवा र २ लाख ९१ हजार ५ सय ३३ जनालाई शल्यक्रिया सेवा प्रदान गरिसकेको छ ।

साथै अस्पतालले निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य शिक्षा कार्यक्रम र अन्य सामुदायिक सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ । गुणस्तरीय सेवा र भरोसाले फत्तेवाल आँखा अस्पताल प्रदेशदेखि भारतसम्मका बिरामीको प्रमुख रोजाइ बनेको छ । (साभार:- स्वास्थ्यपेज डटकमबाट)

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech